![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट दिने र नदिने बारेमा माधवकुमार नेपाल समूहमै विवाद भएको छ ।
माधव नेपाल लगायतका केही नेता नैतिकताको आधारमा देउवालाई मत दिने पक्षमा उभिएका छन् भने कतिपय नेताहरु भने भोट नगर्ने भएका छन् । यज्ञराज सुनुवार, झपट रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, योगेश भट्टराई, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, दीपक प्रकाश भट्ट लगायत ‘नो भोट’का पक्षमा उभिने भएका छन् ।
कतै मत नदिने भनेका कार्यदलका नेतासहित केही माधव पक्षीय सांसदहरु संसद भवनबाट बाहिरिएका छन् । देउवालाई जसपाका महन्थ ठाकुर पक्षले समेत मत दिने भएपछि माधव नेपाल पक्षमा विवाद सुरु भएको हो ।
प्रतिगामी भनिएका केपी शर्मा ओली पक्षलाई विगतमा सघाएका ठाकुर पक्षले पनि देउवालाई साथ दिने भएपछि नेपाल पक्षका केही सांसद मत नदिने पक्षमा उभिएका हुन् ।
जनता समाजवादीको महन्थ ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरेसँगै कतिपयले नेपाल पक्षले पार्टी विभाजन रोक्न संसदमा अनुपस्थित हुने वा विपक्षमा मत दिने आँकलन गरेका थिए ।
तर, नेपाल पक्षका सांसद मेटमणि चौधरीले आफूहरूले औपचारिक निर्णय नगरे पनि देउवालाई विश्वासको मत दिने समझदारी बनेको जानकारी नेपाल दिए ।
नेपाल पक्षकै सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएपछि नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको थियो । छलफलमा संसद जोगाउने धारणालाई निरन्तरता दिन पनि विश्वासको मत दिनेबारे कुराकानी भएको उनले बताए। नेपाल पक्षका सबैले मत दिन्छन् या केहीले मात्रै भन्ने कुरा चाहिँ अझै पनि खुलेको छैन ।
