![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका नेताहरूलाई गोहीको आँशु नबगाउन सुझाव दिएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रचण्डले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर नेकपा एमालेका नेताहरूलाई प्रश्न गर्दै यस्तो सुझाव दिएका हुन् ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रचण्डले प्रस्ट पारे । एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिए ।
‘संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालत भनेर लेख्ने हामी नै होइन ?’, प्रचण्डले प्रश्न गरे । अदालतले अन्ततः संविधानको मर्म र भावनाअनुरूप संसद् पुनर्स्थापना गरेको उनको भनाई छ । संविधानमा लेखिएबमोजिम काम हुँदा लोकतन्त्र मिचियो भनेर कराउनुको अर्थ नहुने प्रचण्डले बताए ।
झन्डै दुई तिहाइ बहुमत भएको सरकारले दुई–दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेको नेपालको इतिहासमै पहिलो पटक भएको प्रचण्डको भनाई छ । प्रचण्डले निवर्तमान प्रधानमन्त्री सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु पनि आश्चर्यजनक रहेको बताए । ‘को भित्र लोकतान्त्रिक चरित्र छ, कोसँग भिन्न परिस्थिति सामना गर्न सक्ने आँट छ भन्ने परिदृश्य त्यसले प्रस्ट भएको छ,’ उनले भने ।
आगोसँग खेल्नु राम्रो होइन
यस्तै प्रचण्डले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी समेत दिएका छन् । प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका नसोच्न आग्रह गरे ।
प्रचण्डले भने, ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ । त्यो बुद्धितिर कोही पनि नजाऔं ।’
निवर्तमान प्रधानमन्त्री ओलीलाई व्यक्तिगत अहंकार र दम्भ नराख्न उनले आग्रह गरे । ‘व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण हुँदैन, बनेको इतिहासलाई तपाईंले व्यक्तिगत दम्भले निमिट्यान्न पार्छु भन्ने ठान्नु भएको हो भने ब्लण्डर गर्दै हुनुहुन्छ’ उनले भने, ‘यसको फल भोग्नुहुन्छ भोग्दै जानुहुन्छ ।’
