![]()
लोकतान्त्रिक सरकार अपदस्थ गरी सैनिक शासन लागू गरेका म्यानमारका सैनिक अधिकारीहरू आन्दोलनकारीमाथि थप कडा बनेका छन् । सैनिक सरकारले अब आन्दोलनको समयमा पक्रिएका जोकोहीलाई पनि २० वर्ष जेल सजाय दिने निर्णय गरेको छ । सैनिक अधिकारीमाथि अपशब्द बोल्ने र अभद्र व्यवहार गर्नेहरूलाई पनि जरिवाना र जेल सजाय हुन सक्ने सेनाको चेतावनी छ ।
सेनाले सोमबार जारी गरेको विज्ञप्तिअनुसार घृणा वा आपत्तिजनक शब्द प्रयोग गर्नेहरूमाथि पनि कारबाहीमा हुनेछ । सेनाले आफ्नो वेबसाइटमा भनेको छ, ‘शब्दबाट, लेखेर, सांकेतिक तथा कुनै पनि भिडियो सन्देशबाट सेनाप्रति घृणा गर्नेहरूलाई नयाँ कानुनअनुसारै कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।’ सर्वसाधारणलाई त्रसित बनाउने किसिमको गतिविधि गरेकाहरूलाई तीनदेखि सात वर्षसम्मको जेल सजाय हुन सक्ने सेनाको वेब पोर्टलमा उल्लेख छ ।
पछिलो समय प्रदर्शनकारीमाथि दबाब कायम राख्न म्यानमारमा सेनाले धेरै नियम परिवर्तन गरे पनि सडकमा नियमितजस्तो प्रदर्शन भइरहेको हो । प्रदर्शनकारीहरूले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित शीर्ष नेताहरूलाई नजरबन्दमुक्त गर्नुपर्ने माग गरिरहेका छन् । साथै उनीहरूले म्यानमारमा लोकतन्त्र पुनर्बहाली र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने माग यथावत् राखेका छन् ।
यसैबीच, नेतृ सुकीका वकिलहरूले आगामी बुधबार भिडियोमार्फत अदालतमा आफ्नो भनाइ राख्न सक्ने जानकारी दिएका छन् । सेनाको गैरकानुनी कार्यविरुद्ध सुकीले अदालतमा भनाइ राख्नेछिन् । यस विषयमा सुकीलगायत अन्य नेताहरूबीच सोमबार छलफल भएको छ । यसअघि सेनाले १५ फेब्रुअरी (सोमबार) सम्मका लागि मात्रै सुकीलाई नजरबन्द राखेको घोषणा गरेको थियो ।
सैनिक अधिकारीहरूले सुकीलगायत नेताहरूबीच भएकोे वार्तालापमा प्रयोग भएको कुराकानी गैरकानुनी भएको ठहर गरेको छ । गत नोभेम्बरमा सम्पन्न आमनिर्वाचनमा सुकीसमर्थित पार्टी एनएलडीले बहुमत प्राप्त गरेको थियो भने सेनाले समर्थन गरेको पार्टी नराम्रोसँग पराजित भएको थियो । सेनाले निर्वाचनमा धाँधली भएको दाबी गर्दै परिणाम अस्वीकार गर्दै आइरहेको छ । सेनाले यस सम्बन्धमा सर्वोच्च अदालतमा समेत रिट दायर गरेको थियो । तर, अदालतले पनि सेनाको रिटमाथि कुनै सुनुवाइ गरेको छैन । अदालतबाट समेत आदेश नआएपछि सेनाले १ फेब्रुअरीमा कु गरेको हो ।
सेनाले नयाँ नियमपछि आन्दोलनकारीहरूले पनि थप दबाबमूलक कार्यक्रम गर्न थालेका छन् । सुरक्षाकर्मीहरूले म्यानमारको दोस्रो ठूलो सहर मान्डलयमा प्रदर्शनकारीमाथि रबरको गोली प्रयोग गरेका छन् । सैनिक सुरक्षाकर्मीले आन्दोलनकारीमाथि गोली प्रयोग गरेको दृश्य सामाजिक सञ्जालमा पोस्ट भएका छन् । सैनिक अधिकारीहरूले इन्टरनेट सेवा सुरु गरेको केही घन्टामै सामाजिक सञ्जालमा गोली प्रहार गरेका दृश्यहरू पोस्ट भएका थिए । ‘रबर गोलीको आवाज पनि अत्याधुनिक हतियारको जस्तो थियो,’ एक प्रदर्शनकारीले भने । बिबिसीका अनुसार सोमबारको आन्दोलनमा धेरै प्रदर्शनकारी घाइते भएका छन् ।
यसैगरी यित्किना सहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । प्रदर्शनको क्रममा पाँच पत्रकार पक्राउ परेका थिए । उनीहरूलाई तत्कालै रिहा गरिएको थियो ।
