![]()
विद्याप्रसाद घिमिरे
अहिलेको राजनीतिक चरित्र हेर्दा हामीले अँगालेको प्रणाली जनचाहना नभएर पूरापूर आयातीत हो भन्नेमा शंका छैन । रहर वा बाध्यता जसरी रोपिए पनि यो वृक्षले देशभर जरा फैलाइसकेको छ । गणतन्त्रको सिद्धान्त भित्रिँदा गणतन्त्रात्मक व्यवहार पनि भित्रिनुपर्ने हो । तर दुर्भाग्य, त्यो हुन सकेन ।
यहाँ एउटा पुस्ता छ, जुन दशकौंदेखि राजनीतिमा छ । हामी तिनैको इशारामा नाचेका छौँ । देशका लागि कुन व्यवस्था ठीक भन्ने अलमलमै यिनले धेरै वर्ष खेर फालिदिए । हिजो राणा हटाएर राजालाई सत्तामा राख्ने जुन पुस्ता हो, केही वर्षमा सोही पुस्ताले सक्रिय राजतन्त्र बेठीक हो भनी संवैधानिक राजतन्त्रको वकालत ग¥यो । संविधान निर्माण समितिमा उही बस्यो र संवैधानिक राजतन्त्रको संविधान दियो । दशक बित्न नपाउँदै फेरि त्यही अनुहारले संवैधानिक राजतन्त्रभन्दा लोकतन्त्र ठीक भन्न थाल्यो । नेपाललाई संघीय गणतान्त्रिक राष्ट्र बनाउनुपर्छ भन्दै कुर्लिने झुन्डको अग्रभागमा उही देखियो । हिजो संविधान बनाउँदा आफ्नै हातले हिन्दू राज्यसहितको संवैधानिक राजतन्त्र लेख्ने हातले आज धर्म निरपेक्षसहित संघीय गणतन्त्रात्मक संविधान बनाएर लागू ग¥यो । यहाँ कुनै राजनीतिक दल आफ्नो सिद्धान्तमा अडिग देखिँदैन । यी दलहरूको वास्तविक अनुहार के हो ? आफ्नो सक्कली अनुहार सार्वजनिक गर्ने आँट न कुनै दलले आजसम्म ग¥यो न जनताले नै नेतृत्वसामु प्रश्न राख्यो । अहिलेको राजनीतिक चरित्र हेर्दा हामीले अँगालेको प्रणाली जनचाहना नभएर पूरापूर आयातीत हो भन्नेमा शंका छैन । रहर वा बाध्यता जसरी रोपिए पनि यो वृक्षले देशभर जरा फैलाइसकेको छ । गणतन्त्रको सिद्धान्त भित्रिँदा गणतन्त्रात्मक व्यवहार पनि भित्रिनु पर्ने हो । तर दुर्भाग्य, त्यो हुन सकेन । सिद्धान्त र व्यवहार दुई फरक पाटा हुन् । व्यवहार संस्कारी हुन्छ, जुन मानिस जन्मे, हुर्केको वातावरणबाट पोषित हुन्छ । व्यवहारले सिद्धान्त जन्माउँछ तर सिद्धान्तले व्यवहार जन्माउन कठिन हुन्छ । हामीले संस्कार बसाले संस्कारभित्रबाट व्यवहार आफै पलाउँछ । तर भइदियो के भने हामीले सिद्धान्त मात्र अँगाल्यौँ, व्यवहार अँगाल्न सकेनौँ । यही भएर सिद्धान्त फेरिँदा पनि व्यवहारमा भने हामी सनातनी नै रह्यौँ ।
अहिले बेरोजगारीले अर्को समस्या निम्त्याउँदै छ, जुन हस्तक्षेपकै एउटा नदेखिने पाटो हो । परिवर्तनपछि देशमा रहेका बाँसबारी छाला–जुत्ता कारखाना, हेटौँडा कपडा उद्योग, लुम्बिनी चिनी उद्योग, हिमाल सिमेन्ट उद्योग, भक्तपुर इँटा–टायल कारखाना, हरिसिद्ध इँटा–टायल कारखाना, ट्रली बस सेवा, भृकुटी कागज कारखाना, जनकपुर चुरोट कारखाना, बिराटनगर जुट मिललगायत दजनौँ कलकारखाना र उद्योग बाहिरी इशारामा बन्द गराइयो । जनताको चुलो बाल्ने र पेट पाल्ने काममा महत्वपूर्ण योगदान दिँदै आएका यी कारखाना बन्द भएसँगै जनताको दैनिकी प्रभावित बन्यो । युवालाई व्यावसायिक शिक्षा नदिई सैद्धान्तिक शिक्षा मात्र दिलाउने खालको पाठ्यक्रम ल्याइयो, जसले युवालाई झन्झन् बेरोजगार बनाउँदै लग्यो । बेरोजगार समस्याको समाधान गर्न वैदेशिक रोजगारलाई प्रोत्साहित गरियो । आज वैदेशिक रोजगारीको रकमले जनताको चुलो बल्दैछ र वैदेशिक रोजगारीकै बिप्रेषणले देश चल्दैछ । उद्योग, कलकारखाना बन्द भएसँगै हामी पूरै परनिर्भर बन्यौँ, जसले स्थितिलाई झन्झन् भयावह बनाउँदै लग्यो । केही दशक अघिसम्म हामी विदेशीले पठाएको चिज आफ्नै हातले खान्थ्यौँ । आज तिनले चम्चामा राखेर हाम्रो मुखमा हालिदिएका छन् । आफ्नै हातले खानेसम्मको झन्झटबाट हामी मुक्त छौँ । परनिर्भरताको अवस्था यही रहेमा आगामी दशकको अन्त्यसम्ममा विदेशी आपैmँले चपाएर तात्तातो गाँस हाम्रो मुखमा राखिदिनेछन् । त्यही गाँस निलेर हामी विदेशी कपडाको दौरा सुरुवालमा उतै तयार भएको राष्ट्रिय झन्डा बोक्दै माइतीघर मण्डलामा विदेशी विस्तारवाद बिरुद्ध भाषण ठोकिरहेका हुनेछौँ ।
यो सबै हुनुको पछाडि हामी नै जिम्मेवार छौँ । नेतालाई देवदूत ठान्ने हामी हौँ । हिजो दलदलमा जसले फसायो, उही नै आज ईश्वर बनेर उभिएको छ । यिनलाई महान ठान्ने गल्ती नगर्नु भन्दै केही देशभक्तले हामीलाई समयमै सचेत गराएका हुन्, तर तिनको एक शब्द नसुनी हामी यिनै धुर्त जमातको पछि लाग्यौँ । हिजो भ्रम छर्नेहरूको स्पष्ट अनुहार देखाइदिन आउने हितैषीलाई प्रतिगामी भन्दै खेद्यौँ र तिनीहरूको सुझावतिर दिमाग खर्चन उचित ठानेनौं । देश भनेको चिल्लो सडक, चौडा बाटो, ठल्ठूला भवन र आयातीत गाडी मात्र होइन । जनता–जनताबीचको भाइचारा, एकता, सद्भाव र संस्कृतिको जगमा देश उभिएको हुन्छ । राष्ट्रलाई समृद्ध बनाउन बाहिरबाट झट्ट हेर्दा देख्न नसकिने यस्तै शक्तिको ठूलो भूमिका हुन्छ । तर अहिले महत्वको यही पाटो अँध्यारोमा छ । यी पक्षमा ध्यान पुग्न सक्ने हो भने देशको कायापलटमा समय लाग्दैन । युवालाई विदेशी भूमिमा बेचेको पैसाले चिल्लो गाडी चढ्नुमा समृद्ध देख्ने दृष्टि रहेसम्म सुधारको आशा गर्नु व्यर्थ छ ।
कहिले भूकम्प, कहिले बाढीपहिरो र कोरोना महामारी । विपत्तिमा बिल्लीबाठ भएका नागरिकले सरकारको मुख ताकेको धेरै भयो । नेतृत्वको अर्जुनदृष्टि त्यता जान सकेन । हाम्रो राजनीति सधैँ सत्तामोहमै घुमिरह्यो र यसैमा देशको ढुकुटी रित्तिँदैछ । यहाँ यो दल ठीक र त्यो दल बेठीक भन्नै पर्दैन, जुन दलको सरकार बने पनि सत्तामा पुग्नासाथ ऊ सत्तामोहमा धृतराष्ट्र बन्छ । सत्ताबाहिर बस्ने दलचाहिँ सोही दिनदेखि सत्तारोहणको तानाबानामा समय बिताउँछ । यतिसम्म निकृष्ट राजनीति मानव इतिहासमा सायदै भेटिएला । कुनै राजनीतिक नेताले देशलाई सही दिशामा हाँक्ला भन्ने आश जनतामा मरिसक्यो । हाम्रो राजनीति वषौँदेखि एउटै वर्तुलमा घुम्दैछ । एउटै कोठामा फन्को मारेर कोसौँ यात्रा गरिसकेका हामी बाहिर निस्किने मूलद्वार नभेटेर आज पनि उही कोठामा घुम्न बाध्य छौँ । विकास निर्माणको हालत उस्तै छ, नयाँ निर्माणको काम ठप्प छ । बाजेले बनाएका पुराना संरचनालाई नयाँ नाम दिएर हामी नयाँ नेपालको परिकल्पनालाई साकार बनाउँदैछौँ ।
सुशासन र सुधारको प्रतीक्षामा आयु घटाउनुबाहेक हामीले परिवर्तनको गन्धसम्म भेटेनौँ । नेता र नेताको विवेक नफेरिएसम्म परिवर्तनले मात्र ठोस उपलब्धि ल्याउन नसक्ने रहेछ । राजनीतिको यो दुश्चक्रमा फसेर हामीले आधा शताब्दीभन्दा धेरै समय बितायौँ । इमानपूर्वक दिनरात मिहिनेत गर्ने हो भने पनि तीन दशकअघि देश जहाँ थियो त्यहाँ पु(याउन हामीले दशकौँ परिश्रम गर्नु पर्नेछ । नेतागणमा अति नै अहंकार छ । अहंकारले भरिएको त्यो बेलुनलाई चाहिनेभन्दा बढी हावा दिएर फुलाउने हामी हौँ । हाम्रै दाश मनोवृत्तिले यिनको आत्मबल बढ्दै छ । दम्भले स्वार्थन्ध भएर यी राष्ट्रको हितविपरीत मनपरी निर्णय गर्छन् । निर्णय हुनुअघि निदाएका हाम्रा आँखा निर्णयपछि एक्कासि खुल्छन् । त्यसपछि यिनको सबैभन्दा बढी विरोध गर्ने हामी नै हुन्छौँ । राष्ट्रहितका क्षेत्रमा काम गर्ने मानिसहरू हामीकहाँ हुँदै नभएका होइनन् तर तिनले कतैबाट प्रोत्साहन पाएको देखिन्न ।
राजनीतिक वृत्तभन्दा बाहिर रहेका असल व्यक्तिप्रति न हिजो सरकारको नजर परेको थियो न त आज । दुःखसाथ भन्नुपर्छ जनस्तरबाट पनि तिनको मनोबल बढाउने काम कहिल्यै हुन सकेन, उनीहरू सधैँ तिरष्कृत नै रहे । सम्मान र नामको भोक मानवीय गुण हो, जुन भोक ज्ञानीमा भन्दा अज्ञानी र अल्पविवेकीमा बढी हुन्छ । जति बढी अज्ञानी उति धेरै सम्मानको भोक । यहाँ कोही अध्ययनमा छन्, कोही खेलमा छन् त कोही कला र साहित्यमा छन् । देशको नाम राख्ने र समाजलाई सचेत बनाउने सवालमा यी सबैको योगदान महत्वपूर्ण छ । ाम्रो कामको सम्मान पाउनु सबैको अधिकार हो । अध्ययनकर्ता होस् वा खेलाडी, साहित्यकार होस् वा लेखक, जुनसुकै क्षेत्रमा लागे पनि प्रारम्भमा आत्मसन्तुष्टिका लागि ऊ त्यस क्षेत्रमा लागेको हुन्छ । काम गर्नुअगावै भविष्यमा सम्मान पाइएला भन्ने आश कसैले गर्दैन । यद्यपि काम गर्दै जाँदा उसको योगदान देशको प्रतिष्ठासँग जोडिन पुग्छ । कसैको कामबाट देशको शिर उठ्छ भने उसलाई सम्मान दिन चुक्नु हुँदैन । यस्तै शिष्टाचारले देशको सभ्यता र संस्कृति मापन गर्दछ ।
राम्रो व्यक्तिलाई सम्मान दिने मामलामा हामी धेरै निकृष्ट छौँ । यहाँ सम्मानको आशा बोकेर राजनीति गर्नेको सङ्ख्या ठूलो छ । राजनीतिसँग लिनुदिनु नभएका, तर सम्मानको भोक मेटाउन राजनीतिमा लाग्ने प्रशस्तै छन् । राजनीतिसँग साइनो सम्बन्ध नराख्ने तटस्थ नागरिकको संख्या पनि कम छैन, यो वर्गले हाम्रो नहेरी राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने हैसियत राख्छ । केही जनप्रतिनिधिको काम तिरष्कारयोग्य भएर नै उनीहरू समाजमा तिरष्कृत भएका हुन् । जति नीच जनप्रतिनिधि त्यही अनुपातमा सम्मानको भोक । यहाँ फटाहाहरूले काम नै नगरी सम्मान पाइरहेका हुन्छन् । यो कसरी सम्भव छ ? भन्नुहोला । यसमा गणेश प्रवृत्तिले काम गरेको देखिन्छ । केही स्वार्थीहरू कार्यकर्ताको बिल्ला भिरेर गणेशले सुमेरु घुमेझैं यिनको वरपर घुम्छन् । बाध्यतावश यिनको हातबाट कुनै दिन सानो काम भइहाल्यो भने त्यो प्रचार गर्न हातमा कलम र कापी बोकेर गणेश समूह कुद्छ । पैसा र शक्तिको बलमा यो समूहले धूर्तलाई माथि उठाइदिन्छ । जनतालाई यिनको नाटक बुझ्ने समय हुँदैन ।
डाक्टर, प्राध्यापक, इन्जिनियर, विचारक, साहित्यकार आदि बिरामी भएर मृत्युशैयामा हुँदा वास्ता नगर्ने गणेशहरू नेताको पत्नीले ‘हाछ्युँ’ गरेको समाचार पत्रिकाको मुखपृष्ठमा राख्न तँछाडमँछाड गर्छन् । नेताले भोटको स्वार्थमा परेर अर्थहीन काम नै किन नगरोस्, त्यसलाई बढाइचढाई गरेर प्रचार गर्ने काम नोटको पछि लाग्ने गणेश जमातले गर्छ । आवश्यकताभन्दा बढी महत्व पाएकै कारण नेताहरूमा चाहिनेभन्दा बढी महत्वाकांक्षा बढेको छ । हामीले जे गरे पनि चल्छ भन्ने घमण्डमा यिनले जनआकाक्षा विपरीत निर्णय गर्दा आज सिङ्गो देश बिरामी परेको छ । नेतागणले घमण्डी मानसिकता नत्यागेसम्म देशको उपचार सम्भव छैन ।
जनताको प्रयासबिना राजनीतिले सही मार्ग पक्रन गाह्रो छ । अबका दिनमा नेतालाई देवदूत बनाउने काम बन्द हुनुपर्छ । एउटा घर छ, त्यस घरलाई सन्तुलनमा राख्न घरमूलीको निर्देशन र नियन्त्रण जरुरी छ । उसलाई कुन हदसम्मको सहयोग गर्ने र कति सम्मान दिने घरका सदस्यले बुझ्ने कुरो हो । त्यहाँ सबैको आ–आफ्नै जिम्मेवारी र महत्व छ । कोही आर्थिक व्यवस्थापनका लागि कमाउन जान्छन्, कोही आपूर्ति व्यवस्था मिलाउन मालसामान खरिद गर्न जान्छन् भने कोही खाना बनाउँछन् । विहंगम दृष्टि लगाउँदा देशको आर्थिक पक्ष हेर्ने अर्थमन्त्री हो, आपूर्तिको व्यवस्था आपूर्तिमन्त्रीले गर्छ, खाद्यवस्तुको व्यवस्थापन गर्ने खाद्यमन्त्री हो । यी सबैलाई सन्तुलनमा राख्ने काम सरकार प्रमुखले गर्छ । आफ्नो समस्या समाधान गरिदिने जिम्मा दिएर जनताले नै यिनलाई नियुक्त गरेको हो । यिनलाई जमिनबाट उठाएर कुर्चीमा राखिदिने जनता हो, जुन भ्रमको उचाइ हो । भ्रमकै उचाइ किन नहोस्, उँचो ठाउँमा बसेको व्यक्ति जमिनको व्यक्तिभन्दा अग्लो नै देखिन्छ । उसको उचाइ पनि यही हो । यति सामान्य कुरोसमेत नबुझी सारा आत्मसम्मान गुमाएर दिनरात उसकै प्रशस्तिमा समय फाल्नु भनेको मूर्खतापूर्ण काम हो
