Loading

दमौलीः कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच वर्ष सरकार चलाउनका लागि जनताले दिएको मतमाथि संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले जनमतको दुरुपयोग गरेको आरोप लगाए । 

तनहुँको ऋषिङ ४ र ६ वडा जोड्ने ढाक्रे खोलामाथि निर्मित पुलको उद्घाटन गर्दै उनले यसको प्रतिरोध गर्नुपर्ने बताए । ‘प्रधानमन्त्रीको कदम जनताले बनाएको संविधानको विपरित छ,’ उनले भने, ‘यो पिछडिएको क्षेत्र, जाति र समुदायको विरोधमा छ । सबैबाट यसको प्रतिरोध जरुरी छ ।’

वरिष्ठ नेता पौडेलले बाटाघाटा र विकास कांग्रेसले गरेको भए पनि अहिले कम्युनिस्ट नेतृत्वले त्यसको जस लिएको आरोप लगाए । ‘कम्युनिष्टले झुटा कुरा गरेर अरुको विकासको पनि जस लिन खोजेका छन्,’ उनले भने, ‘जनताले सही कुरा बुझ्नु जरुरी छ ।’

कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाको दुई विकट क्षेत्रलाई जोड्नका लागि आफ्नै पूर्ण बजेटमा पुल बनेको बताए । तीन करोड ६० लाखमा बनेको पुलले गाउँपालिकाको ४ र ६ नम्बर वडा जोडेको छ ।