![]()
रौतहट । जनता समाजवादी पार्टीका केन्दीय सदस्य बबन सिंह नेकपा केपी ओली समूहमा प्रवेश गरेका छन् । जसपाका नेताहरु राजनीतिक व्यापारी रहेको भन्दै बिहीवार गरुडामा आयोजित नेकपा ओली समूहको जिल्ला भेला कार्यक्रममा सिंह नेकपामा प्रवेश गरेका हुन् ।
सिंहलाई नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल , अध्यक्ष तथा सहरी विकास प्रभु साह, प्रदेश कमिटी सचिव तथा राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले माला र टिका लगाएर स्वागत गरेका छन् ।
२०६४ को सविधानसभामा स्वतन्त्रबाट विजयी बबन सिंह पछिल्लो समय जसपा केन्द्रीय सदस्य रहेका थिए । ओली समूहमा प्रवेश गरेपछि सिंहले जसपा अध्यक्ष उपेन्द्र यादव आफू चुनाव जित्न अन्य पार्टीसँग मिलेर आफनै पार्टीका उम्मेदवारलाई अन्तरघात गर्ने गरेको बताए । नेता सिंह प्रधानमन्त्री ओली जनताको असली नेता भएको बताए ।
२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलमा तत्कालीन नेकपा माओवादीका २७ जना कार्यकर्ताको हत्या गरिएको थियो । सो कार्यक्रममा भएको हत्याकाण्डमा मुख्य योजनाकारको रुपमा उपेन्द्र यादव सहित बब्बन सिंहलाई आरोप लाग्दै आएको छ । सो हत्याकाण्डमा माओवादीका २७ जनाको भिभत्स तरिकाले हत्या गरिएको थियो ।
उनको प्रवेशले प्रभु शाहको असली चेहरा उदांगो भएको भन्दै पूर्व माओवादी समर्थक नेता तथा कार्यकर्ताहरु शसंकित भएका छन् ।सो घटना सम्बन्धी मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले न्यायका लागि पीडितहरु गुहार्दै आएका छन् ।
