Loading

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति दुःख  व्यक्त गरेका छन् । बुधबार एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ६:२५ बजे उनको निधन भएको थियो। दशैंमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

उनको त्यहाँ उपचार हुन नसकेपछि १४ गते शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनलाई कोरोना पोजिटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। उनी विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् ।

वि.सं. २०१८ साउन १३ गते शुक्रबार जन्मिएकी उनको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्। महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारिरीक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो।

२०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल भएकी थिइन्। सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता महरा तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गरेकी थिइन्।