![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघिजस्तो चुनावी गठबन्धन गरेर गल्ती नगर्ने बताएका छन् । उनले अब आफ्नो दलले एक्लै चुनाव लडेर विगतमा गरिएको गल्तीलाई सच्याउने बताए ।
माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले विगतमा कांग्रेस, एमाले जस्ता दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताए ।
यसैवीच उनले माओवादी घटकहरुको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने बताए । माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ उल्लेख गर्दै उनले भने– ‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिंदै साथ दिने छन् ।’
उनले अब आफूहरुले बन्दुक बाँड्नु छैन, जनता छोराछोरीलाई उत्पादनको औजार बाँडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बताए । उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौं युवाहरुलाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने बताए । आफू उमेरले ७० वर्ष भए पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको उनले बताए ।
उनले सरकारलाई लक्षित गर्दै भुटानी शरणार्थी काण्डका दोषीहरुलाई कारवाही किन नगरेको भनी प्रश्न गरे । आपूmहरुले भुटानी शरणार्थी काण्ड लगायत विभिन्न काण्डको फाइल खोल्दै गर्दा सरकार गिराएको आरोप लगाए । खबरदारी सभामा पार्टी केन्द्रीय तथा बाग्मती प्रदेश पदाधिकारी सहित हजारौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

