Loading

टीकापुर/ सँविधान दिवसको अवसरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल टिकापुर नगर समिति र टिकापुर नगरपालिकाको छुट्टाछुट्टै आयोजनामा बिहीबार साँझ टिकापुर स्थित खडक चोकमा द्विप प्रज्वलन गरिएको छ।

वाइसिएलको आयोजनामा चोकको दक्षिणतिर र नगरपालिकाको आयोजनामा चोकको उत्तरतिर द्विप प्रज्वलन गरिएको हो।

द्विप प्रज्वलनको उद्घाटन सँविधान सभा सदस्य हरि ज्ञवाली अखण्ड ले गरेका थिए । उनले क्रान्तिकारी नेपाली जनताको बलिदानीबाट प्राप्त सँविधान भएकोले कसैले रहरले चाहदैमा सँशोधन नहुने बताए। 

जनताका थप अधिकार स्थापित गर्नका लागि सँशोधन गरिन सकिने भएपनि जनविरोधी प्रावधान राख्न परिवर्तन हुन नदिइने समेत चेतावनी दिए । दश वर्षे जनयुद्धको जगमा बनेको सँविधानमा सबैप्रकारले जनमुखी नहुन सक्छ तर जनतालाई दिएका अधिकार कटौती गरेर नेतामुखी बनाउने कुरामा आफ्नो पार्टी कदापि सहन नगर्ने बताए।

पूर्ण समानुपातिक समावेशी सँसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको बिषयमा सँशोधन गर्न सकिने भएपनि सँघीयता, गणतन्त्र, समावेशी र समानुपातिक निर्वाचन प्रणालीमा पछाडि हटेर सँशोधन हुनै नसक्ने बताए।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज समेत रहेका ज्ञवालीले प्रगतिशील कुरामा आफ्नो पार्टीको साथ रहने तर प्रतिगामी कुरामा बिरोध रहने बताए । उनले सँविधानको पालना गर्नु हरेक नेपाली जनताको कर्तव्य रहेको समेत बताए ।