![]()
अमेरिकाले आफ्ना पूर्व विदेशमन्त्री र सुरक्षा सल्लाहकार हेनरी किसिङ्गजरलाई चीन पठायो । एक सय वर्षको उमेर नाघि सकेका हेनरी किसिङ्गजरलाई अमेरिकाले चीन भ्रमणमा पठाउनको अर्थ किसिङ्गजरको चीनबारे गहिरो अध्ययन, अनुसन्धान र अनुभव हो । करिब ६ दशक अघि पनि अमेरिका र चीनबिचको दुईपक्षीय सम्बन्धलाई सामान्य अवस्थामा फर्काउन उनले सार्थक भुमिकाको निर्वाह गरेका थिए । अमेरिकामा धेरै युवा र बिद्धानहरु पनि छन तर संकटको बेलामा अमेरिकाले एक सय वर्षिय कुटनीतिज्ञ अनुभवको उपयोग गर्यो ।
महाधिवेशन भएको डेढ वर्ष मै सत्ताधारी नेकपा माओवादी केन्द्र भित्र नेतृत्व परिवर्नतको माग उठेको छ । महाधिवेशनले तय गरेको कार्यदिशा प्रभावकारी रुपमा कार्यान्वयन नभएको र नेतृत्व कमजोर भएको तर्क गर्दै केही सदस्यहरुले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नु पर्नेमा जोड दिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ वर्तमान सरकारले गरेको केही कामहरुको चारैतिर प्रशंसा भईरहेको अवस्थामा सत्ताधारी दल भित्रबाट पार्टी संगठनमा नेतृत्व परिवर्तनको माग उठनुले प्रधानमन्त्रीको मनोबलमा पनि प्रतिकुल प्रभाव पार्न सक्दछ ।
हुनत कुनै पनि राजनीतिक दल भित्र हुने गरेको विवाद त्यसको आन्तरिक मामिला नै हुने गर्दछ छ तर सत्ता सहयात्री दल भित्र हुने गरेको विवादको असर सरकारको संचालनमा पनि पर्न जान्छ । सरकारको काम भने जनतालाई राहत प्रदान गर्नु हो, तिनका दैनिक समस्या समाधान गर्नु हो, तिनको जनजिवनमा अनुकुल वातावरणको निर्माण गर्नु हो । आन्तरिक कलहहरुले यसलाई प्रभावित पार्ने गर्दछन् । हुनत नेकपा माओवादी केन्द्र भित्र अहिले पार्टी अध्यक्ष प्रचण्डलाई चुनौती दिन सक्ने क्षमता कसैमा पनि छैन र प्रचण्डले चाहुन्जेल सम्म उनी नै पार्टी अध्यक्षको पदमा कायम रहने निश्चित छ ।
अध्यक्ष प्रचण्ड अहिले विषम राजनीतिक परिस्थितिको सामना गरिरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवासको जग्गा प्रकरण र एक क्वीन्टल सुन तस्करी प्रकरणमा उनले कठोर पाईला चालेका छन् । भ्रष्टाचार प्रतिको शुन्य सहनशिलताका कारण उनी जनतामा लोकप्रियता हुँदै गएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको लोकप्रियता पनि निकै तिब्र गतिमा बढेको छ । भ्रष्टाचार, अनियमितता, ठगी र तस्करीको विरोधमा सरकारले निरन्तर रुपमा आफ्नो पाईला बढाउँदै गयो भने सरकार चाँडै लोकप्रिय बन्नेछ र कतिपय नबोदीत राजनीतिक दलहरुको अस्तित्वमाथि पनि प्रश्न चिन्ह खडा गर्ने सक्नेछ । तर बहुमतको अभावमा सरकार चाहेर पनि बढी आक्रमक हुन सक्दैन । तथापि सरकारले अहिलेसम्म चालेका पाईला कम अग्रगामी र कम क्रान्तिकारी होइनन् । भ्रष्टचार विरोधमा यसरी खुलेर लाग्नु प्रशासनीय कार्य हो ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो यस कार्यकाललाई ऐतिहासिक बनाउने जुन घोषणा गर्नु भएको छ, सोही दिशामा यो सरकार बढेको देखिन्छ । तर भ्रष्टाचारलाई शिष्टाचार बनाउने काम गरेकाहरु अवश्य पनि वर्तमान सरकारका कतिपय कार्यबाट सन्तुष्ट छैनन्, असन्तुष्टिका स्वर सरकार भित्र पनि छ । गठबन्धनका दलहरु भित्र पनि छ बाहिर त छ नै । वर्तमान सरकार माथि अस्थिरताको कालो बादल पनि आच्छादित छ, जुन कुनै पनि बेला गर्जन सहित वर्षाको रुप लिन सक्दछ ।
सायद त्यही भएर होला पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारले चलाएको सुशासनको अभियानलाई थप बलदिन पार्टिलाई आग्रह गरेका छन् । पार्टिको प्रतिवेदनमा सामाजिक न्याय, प्रशासन र समृद्धिका पक्षमा सरकारले लिएको पहल र जनतामा नयाँ आशा र विश्वास जागेको उल्लेख छ । हुनत माओवादी पार्टीकै एक जना नेताले संसदबाद र माओवाद एकै ठाउँमा हुन नसक्ने भन्न थालेका छन् । विचार ब्यवहारमा अभिब्यक्त हुने यस्ता प्रकरण माओवादीमा धेरै छन् । विचारलाई थप विकसित गर्नेको राजनीतिको चक्र हो । तर यस्ता चक्रले पार्टी भताभुंग तथा लथालिंग भएको बताउने नेताहरु पनि माओवादी भित्र छन् । यही कारण माओवादी पार्टी ओरालो तर्फको यात्रामा लागेको आरोप केही नेताहरुले लगाएका छन् । पार्टी बैठकमा परिवारवादको आरोप पनि चर्को रुपमा लागेको देखियो ।राजनीतिक लाभ र अवसर आफ्ना परिवारका सदस्यलाई मात्रै दिने गरेको, पार्टीमा भेदभाव भइरहेको आरोप पनि प्रचण्ड माथि लागेको छ । एक जना केन्द्रिय सदस्यले त प्रधानमन्त्री निवास बलुवाटरलाई सामन्तवादको नयाँ किल्ला भएको समेत बताए । यती मात्रै होइन सत्तामा गएका नेतालाई डिलिङ गर्नमा सजिलो होस भन्ने अभिप्रायले आफन्तलाई निजी सहायक रुपमा नियुक्त गर्ने गरिएको आरोप समेत लगाए ।
नेकपा माओवादी केन्द्रको बैठकमा पार्टीका कतिपय नेताहरुले राजनीतिमा उमेरका कुरा उठाएका छन् र बढी उमेर भएकाहरुले राजनीतिबाट टाढा बस्नुपर्ने माग पनि गरेका छन् । हुनत राजनीतिकर्मीको काम बक्सिङ र एथलेटिक्समा भाग लिने होइन । शारीरिक र मानसिक रुपले स्वस्थ रहनु आवश्यक छ । तर उमेरले अर्थ राख्दैन । सरकारी कर्मचारीहरु लगातार ३०–३५ वर्ष सम्म आफ्नो सेवा अवधिमा टेबुलमा बसेर काम गरेका हुन्छन । एउटै थरिका कामा गर्दा गर्दै थाकिसकेका हुन्छन । त्यही भएर सरकारले आवकाश दिने गर्दछ । रिटायर्डको अर्थ थकित अथवा थाकेको मानिन्छ । रिटायर्डको अर्थ बढी थकित मानिन्छ । राजनीतिमा लागेकाहरु यति बढी लामो समय सम्म अफिसको काम गरेका हुदैनन् । न त एउटै प्रकृतिका काम गरेका हुन्छन् ।जनताका समस्यालाई नजिकबाट जानेका हुन्छन् । एउटा गरीब, सर्बहारा, किसान र मजदुर वर्गको समस्यालाई कर्मचारीवर्गले न त बुझ्न सक्दछ न त समाधान नै गर्न सक्दछ । एउटा कर्मचारी आफ्नो कार्यप्रति मात्रै जवाफदेही हुन्छ । समाज र ब्यवहारसित उसको खासै नाता हुँदैन तसर्थ एउटा कर्मचारीको उमेर र राजनीतिकर्मीको उमेरलाई एक साथ तुलना गर्न सकिदैन । राजनीतिकर्मीहरु बाचुन्जेल सम्म समाज र देशप्रति जवाफदेही हुन्छन् तर कर्मचारी यसरी जवाफदेही हुँदैनन् ।
लामो समयसम्म निर्वासनमा रहेर राजनीति गरेका, सडक संघर्ष गरेका, आन्दोलन गरेका र विचारधारा एवं सिद्धान्तका लागि राजनीति गरेका,पार्टी भित्र रहेर पार्टीको निर्देशनको पालन गर्दै त्याग गरेकाहरु ५०–६० वर्षको उमेरमा पुग्दा पनि पार्टी संगठनमा,अथवा लाभको पदमा पुगिसकेका हुँदैनन् । शैक्षिक योग्यता महत्वपूर्ण हुनुपर्छ तर अनुभवको पनि महत्व हुन्छ । राजनीतिमा लागेका पुराना र अनुभवीहरुले नीतिनिर्माणको क्षेत्रमा महत्वपूर्ण भुमिकाको निर्वाह गर्न सक्छन् ।
उत्तरी छिमेकी चीन र संयुक्त राज्य अमेरिकावीच अहिले धेरै राम्रो सम्बन्ध छैन । यस दुईपक्षीय सम्बन्धलाई सामान्य अवस्थामा फर्काउन अमेरीकाले आफ्ना पूर्व विदेशमन्त्री र सुरक्षा सल्लाहकार हेनरी किसिङ्गजरलाई चीन पठायो । एक सय वर्षको उमेर नाघि सकेका हेनरी किसिङ्गजरलाई अमेरिकाले चीन भ्रमणमा पठाउनको अर्थ किसिङ्गजरको चीनबारे गहिरो अध्ययन,अनुसन्धान र अनुभव हो । करिब ६ दशक अघि पनि अमेरिका र चीनबिचको दुईपक्षीय सम्बन्धलाई सामान्य अवस्थामा फर्काउन उनले सार्थक भुमिकाको निर्वाह गरेका थिए । अमेरिकामा धेरै युवा र बिद्धानहरु पनि छन तर संकटको बेलामा अमेरिकाले एक सय वर्षिय कुटनीतिज्ञ अनुभवको उपयोग गर्यो । अमेरिकी विदेशमन्त्री र अर्थमन्त्रीको असफल भ्रमण पश्चात किसिङ्गजर चीन भ्रमणमा गएका थिए । हुनत अमेरिकी सरकारले यसलाई उनको निजी भ्रमण बताएको छ । मलेसियाका विकास पुरुष महाथीर मोहम्मद ९० वर्षको उमेरमा जनताको चाहनामा प्रधानमन्त्री बनेका थिए । सिंगापुरका लि क्युआनको गाथा पनि मिल्दोजुल्दो छ । तसर्थ राजनीतिमा उमेरले अर्थ राख्दैन ।
सौर्य अनलाइनबाट
