![]()
टीकापुर । टीकापुरबाट काठमाण्डौका लागि गएको त्रायुबाहक बस मंगलबार(आज) बिहान पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी २९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
जिल्ला प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कैलालीको टीकापुरबाट काठमाडौंतर्फ आउँदै गरेको मालिका यातायात प्रा.लि.को सु.प. प्र. ०१–००१ ख २९८६ नम्बरको बस आज बिहान जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं २ स्थित दाउन्ने पहाडको घ्युखोलामा दुर्घटनामा परेको हो । बसको ब्रेक फेल भई सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरु मध्ये ८ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, ५ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा र अन्य १६ जनाको दुम्किबासस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।
घाइतेमध्ये ८ जनाको अवस्था मध्यम रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा कैलालीका मात्रै २५ जना रहेका छन् भने बर्दियाका २ जना र रौतहटका २ जना रहेका छन् । बसमा ३५ जना यात्रु सवार रहेका थिए । उक्त घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सोही बसमा पहिलोपटक काठमाण्डौका लागि यात्रा गरेकी टीकापुरकी ऋजल चन्दले आफूलाई सामान्य चोटपटक लागेको एकनजरलाई बताएकी छन् । भखैरै टीकापुर स्थित गणेश बाबा स्कुलबाट १२ कक्षा उत्तीर्ण गरेकी उनी उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौ जान थालेकी थिइन् । उनीसँगै उनका अन्य दुईजना साथीहरु पनि सो घटनामा परी सामान्य घाइते भएका छन् ।
