Loading

महेन्द्रनगर/ लेखापालको दुव्र्यवहार विरुद्ध कञ्चनपुरका विद्यार्थी आन्दोलित भएका छन्। जिल्लाको भीमदत्त नगरपालिकाका एक विद्यालयका लेखापालले विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन्।

भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्र जोशीले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। आइतबार विद्यार्थीले लेखापालमाथि कारबाहीको माग गर्दै विद्यालयमा विरोध प्रदर्शन गरेका छन्।

साउन ३१ गते लेखापाल जोशीले एक छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गर्दै दोषी उपर कारबाहीको माग गरेका हुन्। विद्यार्थीले लेखापाल र कार्यकक्षमा ढुंगामुढासमेत प्रहार गरेका छन्। आन्दोलनका कारण आइतबारको पठनपाठन प्रभावित भएको छ। विद्यालय प्रशासनले भने लेखापालले छात्रामाथि कुनै दुर्व्यवहार नभएको दाबी गरेको छ।

सिद्धनाथ माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कृष्णसिंह बोहोराले साउन ३१ गते लेखापाल जोशीको छात्रासँग कुम मात्रै ठोक्किएको बताए। लेखापाल जोशीले पनि विद्यालयमा तलमाथि गर्दा भिडभाडमा कुम मात्रै ठोक्किएको बताए। प्रहरीले लेखापाल जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बताए।

उनका अनुसार विद्यार्थीले ती लेखापालमाथि हातपात गरेर घाइते बनाएका छन्। उनको महाकाली अस्पतालमा उपचार हुन नसकेर धनगढी पठाएको उनले बताए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।