![]()
भजनी/ विगतका वर्षहरु झैं यस वर्षपनि भजनी नगरपालिकाका केही वडाहरु डुबानबाट अछुतो रहन सकेनन् । बिगत तीनदिनदेखि अनियमित रुपमा आइरहेको वषर्माका कारण यसपटक पनि वडा नं ३ र ८ सँगै अन्य केही वडाहरु जलमग्न भएका हुन् । बाढीको उच्च जोखिममा रहँदै आएको सो नगरपालिका जलमग्न हुँदा त्यहाँका हजार भन्दा बढी नगरवासी प्रभावित भएका छन् ।

तीन दिन यता अनियमित रुपमा पानी परेपछि सायद बाढी आउँदैन होला भन्ने मनसायमा स्थानीयहरु रहेपनि सोमबार रातिबाट आएको मुसलधारे पानीका कारण बाढी र डुबान आएको भजनी ३ का स्थानीय स्सुरेन्द्र जैसीले बताए । उनले नदीहरुमा पानीको सतह बढेपछि गाउँहरु जलमग्न भएको बताए । मंगलबार रातिदेखि बिहानसम्म पानी परेका कारण डुबानको क्षेत्र बढ्ने सम्भावना देखिएको उनको भनाइ छ ।

यस वर्ष त बाढी नआउला सोचेका थियौ आखिर यो वर्षपनि बाढी र डुबानबाट अछुतो रहेन सकिएन भजनी नगरपालिका वडा नं ८ का स्थानीय खेमराज जैसीले बताए । उनले हरेक वर्ष झैं यस वर्षपनि यो समस्या आइ लागेको छ । बाढीको जोखिमबाट नगरपालिकाका वडा नं ३ र ८ का बडिजसो स्थानहरु डुबानमा परेको र पानी नरोकिए अझैं केही स्थान थप डुबानमा पर्न सक्ने उनले बताए ।
यसैवीच कैलाली क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी, भजनी नगरपालिका प्रमुख केवल चौधरी), वडा नं ३ का अध्यक्ष एवं नगरपालिका प्रवक्ता बिक्रम चौधरी बाढीपिडित क्षेत्रमा पुगी उद्धारकार्यमा जुटेका छन् । उनीहरुले स्थानीय पिडितका घरका सामग्रीहरु आफै काँधमा बोकेर उद्धार गरिरहेको तस्वीरहरु सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेका छन् ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं। ३ का वडाध्यक्ष विक्रम चौधरीले हिजोसम्म केही वडा प्रभावित भए पनि आज बिहानसम्म पुरै नगरपालिकावासी नै प्रभावित भएको बताएका छन् । हालसम्म एक हजार बढी घरधुरी प्रभावित भएको बताउँदै उनले उनीहरूको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए ।

नगर प्रवक्ता चौधरीले भने, ‘कोही सेफ हाउसमा जानुभएको छ । कोही हुलाकी राजमार्गका साथै अन्य सुरक्षित स्थानमा पाल टाँगेर आश्रय लिएको छ । यो क्रम बढ्दो छ । हामी तथ्याङ्क लिने क्रम पनि जारी राखेका छौ ।’ यसैबीच उनले उद्धारमा र राहत सहयोगमा कुनै निकायले सहयोग नगरेको बताए । नगरपालिकाका कै सीमित साधन स्रोतबाट रातदिन नभनी काम जारी राखेको बताउँदै अन्य निकायबाट सहयोगको अपिल समेत गरे ।

भजनी नगरपालिका क्षेत्र बर्सेनि बाढीको समस्या झेल्दै आएको छ । यहाँको कन्द्रा, काँढा, पथरैया, मोहना नदीमा आउने बाढीले डुबान हुँदै आएको छ । वर्षेनी रुपमा आइपर्ने बाढी र डुबानको यस समस्याको दिर्घकालीन समाधानका लागि संघीय सरकाले कुनै कदम चालेको देखिदैन ।

