Loading

टीकापुर, २० जेठ/मार्क्सवादी ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना र सुदूरपश्चिम प्रदेश समितिको व्यवस्थापनमा कैलालीको टीकापुरमा २ दिने परम्परागत साँस्कृतिक खाना महोत्सव सम्पन्न भएको छ । शुक्रबारदेखि शुरु भएको उक्त महोत्सव शनिबार सम्पन्न भएको हो ।


समाज रुपान्तरणको पाठशाला भन्ने कथन रहेको उक्त ज्ञान केन्द्रले सँस्कृति प्रवद्धनका लागि मुलुकका सातवटै प्रदेशमा खाना महोत्सव गररिहेको छ । यसअघि कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णाली प्रदेशमा कार्यक्रम भइसकेको र आगामी २०८० जेठमा बाग्मती प्रदेको काठमाण्डौंमा उक्त महोत्सव हुने सँस्थाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताएका छन् ।


यसअघि शुक्रबार प्रमुख अतिथि प्रनिनिधि सभा सदस्य एवं नेकपा माओवादी केन्द्र सँसदीय दलकी सचेतक रुपा शोसी थारुले एक कार्यक्रमका वीच उक्त महोत्सवको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुथ अतिथि थारुले खाना खान नजानेरै आज मानिसहरु ठूला ठूला रोगले विरामी भइरहेको बताउनुभयो ।

उहाँले पहिलेको समयमा मानिसहरुले शरीरलाई आवश्यक र लाभदायक खानेकुरा मात्र खाने भएपनि आज त्यो अवस्था नरहेकोले मानिसहरु क्यान्सर जस्ता खतरनाक रोगहरुले ग्रस्त भइरहेको बताउनुभयो । उहाँले पहिले शारीरिक व्यायाम र स्वस्थयुक्त खानेकुराका कारण मानिसहरु स्वस्थ भएपनि पछिल्लो समयमा कोठा र मोबाइलमा सिमित भएर रोगी बन्दै गइरहेकोले यसप्रकारका कार्यक्रमले परम्परागत खानेकुरा खानका लागि सही सन्देश दिने बताउनुभयो ।
मार्क्सवाद आफैमा एउटा बहुमुखी दर्शन हो, त्यसैले अहिले मानिसको जनजिविका र स्वास्थ्यसँग जोडिएका कार्यक्रमहरु सञ्चालन गर्नुले यसमा समय अनुसार नयाँ गति लिने बताउनुभयो । साँसद थारुले यसप्रकारका खाना र भेषभूषा लगायतका साँस्कृति सम्पतिहरुलाई अब लोप हुनबाट जोगाएर आधुनिकीकरण गर्दै आर्थिक समृद्धि तर्फ लाग्नुपर्ने बताउनुभयो ।

यसैगरी विशिष्ट अतिथि मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय सल्लाहकार संयोजक डा. निमानन्द रिजालले परम्परागत खानेकुराहरु सँस्कृति जोगाउने मात्र नभई शरीरका लागि स्वस्थवद्र्धक हुने बताउनुभयो । उहाँले नेपालमा १२६ जाति र १२३ भाषा भएकाले सबै जातजातिका आआप्mना सँस्कृति छन् र कतिपय सबैका साझा सँस्कृति पनि छन् । विविधताले भरिएको हाम्रो देशम्रा प्राचीन खानेकुराहरु विज्ञानसम्मत रहेका छन् । ती खानेकुराहरु भूगोल र समय अनुसार पनि भएकाले शरीरका लागि निकै लाभदायक छन् । यस्ता खानेकुराहरुले मानिसको निरोगिता बढाउने भएकाले यिनलाई आधुनिकीकरण गरेर भएपनि सँरक्षण गर्ने र व्यवसायिकरण गर्नुपर्ने बताउनुभयो ।

यस्तै संविधान सभा सदस्य हरिलाल ज्ञवालीले हरेक मानव समुदायका फरकफरक सँस्कृति रहेकाले एकले अर्काको सँस्कृतिमाथि हस्तक्षेप नगरी यसको विकास र प्रवद्धनमा टेवा पुर्याउने काम गर्नुपर्ने बताउनुभयो । उनले सँस्कृतिलाई पनि आर्थिक रुपान्तरणसँग जोडेर लैजाने काम माक्सर्वादी ज्ञान केन्द्रले गरिरहेको बताउनुभयो ।

यसैगरी उक्त कार्यक्रममा टीकापुर नगरपालिकाका पूर्व प्रवक्ता तथा ८ नं वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले समाजमा हल्लिएर कसैका कुरा काटेर बस्नुभन्दा यस प्रकारका कार्यक्रममा सहभागी भएर आर्थिक रुपान्तरण तिर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले अरुका कुरा काटेर चिया पसलहरुमा बस्नुभन्दा राम्रा कार्य गरेर समयलाई उचित प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । आफै गर्नुपर्ने बानी बसाल्नुपर्ने बताउँदै वडाध्यक्ष ठकुल्लाले आफ्नो तहबाट यसप्रकारका कार्यक्रमलाई सक्दो सहयोग गरिने बताउनुभयो ।

कार्यक्रममा निवर्तमान केन्द्रीय सदस्य राजु भुल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने । सो अवसरमा थारु, मगर र सुदूरपश्चिमेली पहाडी समुदायको सँस्कृति झल्किने खालका कार्यक्रमहरु प्रदर्शन गरिएका थिए ।
केन्द्रका वरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष दुर्गाप्रसाद भण्डारी र स्वागत मन्तव्य केन्द्रीय सदस्य अर्जुन रावलले गर्नु भएको थियो भने बधाई केन्द्रीय उपाध्यक्ष जर्नादन बाबु कट्टेलले गर्नु भयो ।


उक्त खाना महोत्सवमा थारु, कठरिया थारु, अछामी समुदाय, मगर समुदाय लगायतले आफ्ना परम्परागत खाना स्टलमा प्रर्दशन गरेका थिए । यस्तै माछाका परिकार, केराका परिकार र बेल जुसहरु पनि प्रदर्शन गरिएका थिए ।