![]()
टीकापुर, ९ फागुन/टीकापुर प्राज्ञिक समाज र भेरी साहित्य समाजको संयुक्त आयोजनामा मंगलवार टीकाुरमा पुस्तक लोकार्पण तथा रचना वाचन कार्यक्रम भएको छ ।
‘जीवनका समाजका लागि र समाज जीवनका लागि’ भन्ने मूल नाराका साथ भएको उक्त कार्यक्रममा प्राज्ञिक समाजको वार्षिक मुखपत्र ‘प्रज्ञा चक्षु’ र साहित्यकार हेमन्तराज माण्डव्यद्वारा लिखित तथा प्रकाशित ‘ज्ञानी साहु’ नामक कथा संग्रहको दोस्रो संस्करण लोकार्पण गरिएको हो ।
वीरेन्द्र बहुमुखी क्याम्पसको सभा हलमा भएको उक्त कार्यक्रममा प्रज्ञा चक्षु तथा ज्ञानी साहुको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका माननीय सदस्य प्रा.डा. जगतबहादुर सिंह रावल तथा विशिष्ट अतिथिहरुले संयुक्त रुपमा गर्नुभएको हो ।
सो अवसरमा प्रमुख अतिथी रावलले वौद्धिक स्तरको यस कार्यक्रमको महत्व विश्वस्तरमा गरिने कुनै कार्यक्रमभन्दा कम्ती नभएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरु आयोजन भइरहनु समाज र संस्कृत दुवैको लागि लाभदायक भएको बताउनुभयो ।
यस्तै विशिष्ट अतिथी समेत रहेका ज्ञानी साहुका सर्जक हेमन्तराज माण्डव्यले कृति रचनामा मिलेको प्रेरणा सहित आफ्नो भावना प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिहरु सुदूरपश्चिम प्रदेश विकास परिषदका सदस्य गणेश प्रसाद ओझा, उपप्राध्यापक डा. खगेन्द्र घोडासैनी, टी.न.पा. वडा नं ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने, वडा नं २ का अध्यक्ष दीपक चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यस्तै प्रज्ञा चक्षुका प्रधान सम्पादक फणेन्द्र राज रेग्मीले सम्पादन कार्यको जानकारी गराउँदै रचनाहरुको समेत समीक्षण गर्नु भएको थियो भने टीकाराम आर्यले ज्ञानी साहु कथा संग्रहको समीक्षा गर्नुभएको थियो ।
सो अवसरमा धनञ्जय तिमिल्सैना, कान्तिप्रसाद ज्ञवाली, शरद सिंह, कैलाश वियोगी, कमलप्रसाद भाट लगायतले कविता तथा गजल प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमकै अवसरमा सर्जक धनञ्जय तिमिल्सैनाले आफ्नो कृति ‘आभाष’ काव्य संग्रह समाजका अध्यक्ष अध्यक्षमार्फत प्राज्ञिक समाजलाई र सर्जक कैलाश वियोगीले आफ्नो कृति ‘शब्द क्रान्ति’ काव्य संग्रह प्रमुख अतिथि रावललाई प्रदान गरेका थिए ।
टीकापुर प्राज्ञिक समाजका अध्यक्ष खगेन्द्रप्रसाद उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रमा भेरी साहित्य समाज कैलाली शाखाका अध्यक्ष चक्रपसाद अधिकारीले स्वागत मन्तव्य र सचिव दुर्गाप्रसाद भण्डारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । राष्ट्रिय गान र सहीदप्रति श्रद्धाञ्जली गर्दै शुरु भएको उक्त कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि रावलले ब्यानर पढेर गर्नु भएको थियो ।
यस्तै दुर्गा रावल, कल्पना ठकुल्ला, टीकाकुमारी कँडेल र राजेन्द्र सिंह महरलाई प्राज्ञिक समाजको आजीवन सदस्यता अध्यक्ष उपाध्यायले प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा प्रमुख अतिथि रावल, विशिष्ट अतिथिद्वय ओझा र घोडासैनी, अतिथिद्वय यज्ञमुर्ति अर्याल र धनञ्जय तिमिल्सैनालाईअतिथिद्वय यज्ञमुर्ति अर्याल र धनञ्जय तिमिल्सैनालाई मायाको चिनो प्रदान गरिएको थियो । ज्ञानी साहु कथा संग्रहको प्रायोजन रहेको उक्त मायाको चिनो अतिथिहरुलाई प्राज्ञिक समाजका अध्यक्ष उपाध्याय र भेरी साहित्य समाज कैलाली शाखाका अध्यक्ष अधिकारीले संयुक्तरुपमा प्रदान गरेका थिए ।

