![]()
काठमाडौं । बंगलादेशको राजधानी ढाकामा भइरहेको जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा मंगलबार नेपालले भारतमाथि ३–१ गोलको जित निकाल्दै फाइनल प्रवेश गरेको छ । लिगको आफ्नो अन्तिम खेलमा नेपालले यो जित निकालेको हो ।
भारतले पहिलो हाफमा २१औँ मिनेटमा अपूर्णाले गोल गर्दै अग्रता दिलाएकी थिइन् तर पछि नेपालकी अन्जना चन्द, कप्तान प्रिती राइ र अमिसा कार्कीले गोल गरेपछि खेलमा ३–१ गोलले जित निकाल्दै परिणाम उल्ट्याएको थियो ।
नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । भारतकी गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बल पाएकी अन्जली चन्दले खाली पोस्टमा गोल गरिन् । नेपालले ६९औँ मिनेटमा अग्रता लियो । कप्तान प्रिति राईले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ गोलले अघि बढाएकी थिइन् । त्यसअघि दिपा शाहीमाथि भारतीय डिफेन्डरले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।
नेपालका लागि तेस्रो गोल अमिसा कार्कीले गरिन्। उनले खेल सकिन एक मिनेट बाँकी छँदा उत्कृष्ट फिनिसिङ गरेकी थिइन् । जितसँगै नेपालले लिग चरणमा ६ अंक जोडेको छ । अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ ।
