Loading

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिँह रावल नियुक्त भएका छ्न् । रावललाई बुधबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

चार दलका २९ सांसदको समर्थनमा रावलले बुधबार नै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । रावललाई सत्ता गठबन्धन दल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ सांसद गरि २९ सांसदको समर्थन रहेको छ ।

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सदस्य आवश्यक पर्छ । केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेतृत्वबीच एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । पहिलो चरणमा सुदूरपश्चिम प्रदेशमा एमालेले नेतृत्व गर्ने सहमति भएको थियो ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलको स्पष्ट बहुमत नभकोले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि बुधबार बेलुका ५ बजेसम्म दाबी पेश गर्न प्रदेश प्रमुख जोशीले आह्वान गरेका थिए ।

यसैगरी कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् ।

शर्मालाई बुधबार प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई–दुई वर्ष गर्ने सहमति भएको छ । कर्णाली प्रदेशसभाको ४० जना सदस्यमध्ये २५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।

शर्मालाई माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकरएक जना सदस्यले समर्थन गरेका छन् ।