![]()
टीकापुर/नागरिक उन्मुक्ति पार्टी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ कैलाली निर्वाचन क्षेत्र नम्बर १ का दुवै प्रदेश सभा सदस्य सहित प्रतिनिधि सभामा निर्वाचित भएकी छन् ।
प्यानलसहित विजयी भएकी श्रेष्ठले नेपाली काँग्रृसका उम्मेदार रहेका पूिर्वमन्त्री रामजनम चौधरीलाई भारी मतका साथ पराजित गरेकी हुन् । प्रतिनिधिसभा सदस्यमा रञ्जिताले ३० हजार ४०४ मत ल्याएकी थिइन् भने निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्र बहादुर रावलले भने पाँच हजार ९१० मत मात्र ल्याएका छन् । एक लाख ६७ हजार ७०३ मतदाता रहेको निर्वाचन क्षेत्रमा ६४ हजार ९९९ मत खसेको थियो भने तीन हजार २६८ मत बदर भएको हो ।
यस्तै प्रदेश सभातर्फको १ मा नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार कैलाश चौधरी विजयी भएका हुन् । कैलाश चौधरीले १५ हजार १०१ मत प्राप्त गर्दै निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीलोई प।राजित गरेका हुन् । बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् ।
यसैगरी प्रदेश सभातर्फको २ मा नागरिक उन्मुक्तिकै उम्मेद्वार लक्ष्मण किशोर चौधरीले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा। रणबहादुर रावललाई तीन हजार २६४ मतान्तरले पराजित गरेका हुन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका रावल गठबन्धनका तर्फबाट उम्मेदवार थिए । विजेता चौधरीले ११ हजार ३१७ मत र निकटतम् प्रतिस्पर्धी रावलले आठ हजार ५३ मत प्राप्त गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले यसअघि कैलालीको निर्वाचन क्षेत्र नं ३ मा पनि प्यानलसहित विजयी हासिल गरेको छ । क्षेत्र नं ३ मा प्रतिनिधि सभामा गंगाराम चौधरीले् सत्ता गठबन्धनका उम्मेदवार रहेका संविधान सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार चौधरी र पूर्वमन्त्री समेत रहेका एमालेका गौरीशंकर चौधरीलाई पराजित गरेका हुन् ।
विजेता गंगारामले २३ हजार १२० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्णकुमारले १७ हजार ७४९, नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ र राप्रपाका वीरेन्द्र बमले ७ हजार ४७ मत पाएका छन् ।
यहाँ कूल खसको ६३ हजार ४४० मतमध्ये ५९ हजार ७१९ मत सदर भएका छन् । भजनी नगरपालिका वडा नम्बर २ मोहनपुर निवासी ४४ वर्षिय चौधरी नेपाली काँग्रेसमा थिए । उनी २०७४ को स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा टिकट नपाएपछि बागी उम्मेद्वारका रुपमा लडेर पराजित भएका थिए । त्यसपछि उनी जनता समाजवादी पार्टी हुँदै गत स्थानीय निर्वाचनअघि नागरिक उन्मुक्ति पार्टीका संस्थापक भएका थिए ।
माओवादी नेता कृष्णकुमार कुन्दन २०६४ सालको संविधान सभाको निर्वाचनमा ३ नंम्बर क्षेत्रबाटै निर्वाचित भएका थिए । पार्टी विभाजनसँगै बाबुराम भट्टराईको नयाँशक्ति हुँदै जसपा पार्टीबाट पुनः नेकपा माओवादी केन्द्रमा फिता भएका थिए । यस्तै एमाले नेता गौरीशङ्कर चौधरी पनि यही क्षेत्रबाट २ पटक विजयी भएका थिए । उनी विजयी हुँदा एकीकृत माओवादी र माओवादी केन्द्रबाट भएका थिए । नेकपाको विभाजनमा लेखराज भट्टसँगै नेकपा एमालेतिर लागेका उनी पुनः मन्त्रीसम्म भएका थिए । पार्टी परित्याग गरेपछि भट्टसँगै उनको साँसद पद गुमेको थियो ।
यस्तै प्रदेशतर्फ सम्पन्न भएको मतगणना अनुसार प्रदेशसभा १ मा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी १३९२३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्धन्द्धि नेपाली कांग्रेसका खेमराज डगौंरा थारुले ११५७२ मत प्राप्त गरेका छन्भने नेकपा एमालेका राजबहादुर बुढाले ४६३१ मत ल्याएका छन् ।
यस्तै प्रदेश २ मा नागरिक उन्मुक्ति पार्टीका खुसीराम डगौंरा थारु ७५३९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्धन्द्धि एकिकृत समाजवादीका अमरबहादुर साउँदले ६६१९ मत प्राप्त गरेका छन्भने नेकपा एमालेका जयनारायण जोशीले ४२३६ मत ल्याएका छन् ।
