![]()
कैलाली/पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमबाट चुनावी सभा शुरु गरेका छन् ।
यसैक्रममा शुक्रबार दार्चुलाको चुनावी सभालाई सम्बोधन गर्न पुगेका ओलीले एमालेको सरकार बनेमा कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याइ छाड्ने बताए । उनले ती क्षेत्र फिर्ता ल्याएरै छाड्ने दाबी गरेका हुन्।
राष्ट्रियताको सवालमा आफ्नो अडान दृढ रहेको भन्दै ओलीले नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गरे। ‘राष्ट्रियताको प्रश्नमा नेपालले एक इञ्च जमिन पनि कसैलाई छोड्नेवाला छैन। एक इञ्च जमिन पनि मिच्न दिनेवाला छैन। मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौँ,’ ओलीले भने, ‘संसदले सर्वसम्मतका साथ पारित गरेको छ। त्यो कुराको फेरि ग्यारेन्टी गर्न चाहान्छुँ।’
कित्र्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको बताउँदै उनले मिचिएको भू–भाग फिर्ता ल्याएर छाड्ने बताएका छन्। ओलीले एमालेको देशव्यापी चुनावी अभियान दार्चुलाबाट शुभारम्भ गरेका हुन्।
यसैवीच उनले डडेल्धुरामा नेकपा एमाले र विपी काँग्रेस वीच भाँडिएको चुनावी तालमेललाई पुनः सुचारु गरेका छन् । अध्यक्ष ओृलीले विपी काँग्रेसका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई नै नेकपा एमालेले डडेल्धुरामा प्रतिनिधि सभा सदस्यका लागि सहयोग गर्ने बताए ।
यस्तै उनले एमाले नेता भीमबहादुर रावलप्रति लक्षित गर्दै भीम भीम मात्र भन्न नहुने बताए । एमालेभित्र भीम रावलभन्दा योग्य थुप्रै रावलहरु भएको बताए । उनले कुनै व्यक्तिका पछाडि नलागी पार्टीका पछि लाग्न कार्यकर्तालाई आग्रह गरे ।
