![]()
सन्त निरंकारी मण्डल दिल्लीको आयोजनामा हरेक वर्ष हुँदै आएको निरंकारी सन्त समागम यस वर्ष पनि हरियाणाको समालखामा हुने बताइएको छ ।

सन्त निरंकारी मण्डल नेपालले जनाए अनुसार उक्त वार्षिक सन्त समागम कात्तिक ३० देखि मंसिर ४ गते (नोभेम्वर १६ देखि २० तारीख) सम्म हरियाणा प्रदेशको पानीपत जिल्लाको समालखा स्थित निरंकारी समागम मैदानमा ‘७५ औं निरंकारी सन्त समागम’का रुपमा हुने बताइएको हो ।
सन २०१७ सम्म दिल्ली राज्यको बुराडीरोडस्थित निरंकारी समागम मैदानमा हुँदै आएको उक्त निरंकारी सन्त समागम सन २०१८ देखि हरियाणाको समालखामा हुन लागेको हो । ‘अध्यात्मवाद एवं मानवता एकसाथ’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको उक्त समागममा विविधतामा एकताको अलौकिक स्वरुप देख्न पाइने बताइएको छ ।

निरंकारी वर्तमान सद्गुरु सुदिक्षा जी महाराजको सानिध्यमा हुने उक्त सन्त समागम यसअघि तीन दिन मात्र हुँदै आएकोमा यसवर्षबाट पाँच दिनको कायम गरिएको प्रेस एण्ड पब्लिसिटी विभाग इन्चार्ज राज कुमारी जीले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएकी छन् । समागम सेवाको शुभारम्भ १८ दिसम्बरमा शुरु भएको छ । जस्को उद्घाटन निरंकारी सदगुरु माता सुदिक्षा जी र निरंकारी पिता रमित जी महाराजले संयुक्तरुपमा गर्नुभएको थियो ।

सन्त समागममा सहभागी हुनेहरुका लागि भारतीय रेल्वेमार्फत समागम मैदान नजिकै रहेको भोडवाल माझरी रेल्वे स्टेशनमा लामो तथा छोटो दुरीका सबै रेलहरु रोकिने ब्यवस्था समेत गरिएको छ ।
कोरोना महामारीका कारण विगत दुई वर्ष अनलाइन र सिमित संख्याको सह-भागितामा सन्त समागम गरिएको थियो । यसवर्ष पूर्ववत झैँ सन्त भक्तहरुको भौतिक उपस्थितिमा हुन गइरहेको उक्त सन्त समागममा नेपालबाट पनि हजारौंको संख्यामा निरंकारी श्रद्धालु सन्त भक्तहरुको सहभागिता रहने गरेकोमा यस वर्ष नेपालमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएकोले कतिको संख्यामा जान सक्छन् भन्ने कुरा भन्न नसिकने सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमालले बताएका छन् ।

