![]()
चितवन/ नेपालको सबैभन्दा बढी क्रान्तिकारी देखिने संसदवादी कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल चितवनस्थित नयाँ निर्माण गरिएको घरमा घटस्थापनाको साइत जुराएर आज (सोमबार) गृह प्रवेश गरेका छन् ।
भरतपुर महानगरपालिका १४ स्थित भिमसेननगरमा नयाँ बनाएका हुन् । घटस्थापनाको साइत पारेर उनले गृह प्रवेश गरेका हुन् । करिब १० कट्ठा क्षेत्रफलमा कम्पाउण्ड गरेर ढलान गरेको भुँइ तलाको घर बनाएका छन् ।
बाजागाजासहित गृह प्रवेश गरेका हुन् । प्रचण्डसहित उनकी पत्नी सीता दाहाल, छोरीहरु रेनु दाहाल, गंगा दाहाल र पार्टीका नेता कार्यकर्ता थिए । प्रचण्डले आफू गाँउमै फर्किएको बताएका छन् । उनी चुनाव लड्ने चितवन क्षेत्र नम्बर ३ मै घर बनाएका हुन् । यसअघि उनी चितवन आउँदा छोरी भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको घरमा बस्थे ।
उनले अब आफ्नै घरमा बसेर राजनैतिक गतिविधि सक्रिय बनाउनेछन् । मंसिर ४ मा निर्वाचन नजिकिँदै जाँदा प्रचण्ड चितवन केन्द्रित बन्न थालेका छन् । विगत तीन दिनदेखि उनी चितवनमै रहेका छन् । उनी विभिन्न कार्यक्रममा व्यस्त छन् । दशैँको घटस्थापनाको अवसर पारेर गृह प्रवेशको साइत जुराएकाले कतिपयले कम्युनिष्ट नेतामा विचलन आएको आरोप लगाएका छन् भने केहीले विजेपीसँगको भारतको राजधानी दिल्लीमा भएको सम्झौता अनुरुप उनी अब संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्य नेपाल बनाउन भूमिगत रुपमा लाग्ने आशंका ब्यक्त गरेका छन् ।

