![]()
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी एवं केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ । विभिन्न पाँच ठाउँबाट प्रतिनिधिसभामा उम्मेदवारका रूपमा नाम सिफारिस भए पनि अन्तिममा उनलाई समानुपातिकको सूचीमा राखिएको छ ।
स्रोतका अनुसार पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि समानुपातिक सूचीमा समेटिएको छ । त्यस्तै सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारलाई पनि समानुपातिकको सूचीमा राखिएको एक नेताले बताए । त्यस्तै, केन्द्रीय सदस्य अम्बिका बस्नेतको नाम पनि समानुपातिकमा छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका नेता आयोग पुगेर बन्दसूची बुझाएका हुन् ।
माओवादीको सूचीमा महरा
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गरेको छ । दाङ क्षेत्र न २ बाट एमाले महासचिव शंकर पोखरेलसँग प्रतिष्पर्धा गर्ने भनी चर्चा गरिएका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरा समानुपातिक सूचीमा बसेका छन् । सोमबार निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभाको समानुपातिक सूचीमा महराको नाम रहेको एक पदाधिकारीले जानकारी दिए । अघिल्लो निर्वाचनमा दाङ–२ बाट निर्वाचित भएका महरालाई धेरै ठाउँबाट चुनाव लड्न माग भई आएको भए पनि उनले समानुपातिकमा बस्ने इच्छा व्यक्त गरेको ती नेताले बताए ।
सोमबार महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरू निर्वाचन आयोग पुगेर बन्दसूची बुझाएका हुन् । पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनाको नाम प्रतिनिधिसभाको बन्दसूचीमा राखिएको छ । प्रतिनिधिसभामा भट्टराईको पार्टीका पाँच जनासहित १ सय १० र प्रदेशसभामा २ सय २० गरी कुल ३ सय ३० जनाको नाम पेस गरिएको उनले बताए ।
एमालेको बन्दसूची : बादल परेनन्
नेकपा (एमाले) ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातितर्फको बन्दसूची बुझाएको छ । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाउन तयार पारेको प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा उपाध्यक्ष रामबहादुर थापा बादललगायत कोही पनि पदाधिकारी परेका छैनन् ।
एमालेले तयार पारेको मापदण्डकै कारण चार जना पदाधिकारीको समानुपातिक सांसद बन्ने बाटो रोकिएको छ । उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र उपमहासचिव विष्णु रिमालले समानुपातिक उम्मेदवार बन्न नपाउने भएका हुन् । ज्ञवाली, शाक्य र रिमाल यसअघि नै एमालेको समानुपातिकतर्फ बसिसकेका छन् । त्यसमाथि पदाधिकारीलाई समानुपातिकको सूचीमा नराख्ने एमालेले मापदण्ड नै बनाएको छ ।
समानुपातिकतर्फको नाम तय गर्न आइतबार सचिवालय बैठक बसेको थियो । बैठकले अन्तिम सूची तयार पार्ने अधिकार भने अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । तर सूची तयार पार्दा पार्टी बैठकबाट तय भएको मापदण्ड मिच्न नहुनेमा विमति नभएको र एकमतले निर्णय भएको बताइएको छ ।
एकीकृत समाजवादीले बुझायो ३ सय ३० को नाम
नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार सोमबार निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ १ सय १० र प्रदेशसभातर्फ २ सय २० जनाकै नामावली बुझाइएको छ ।
उनले अहिले बुझाइएको नाममा फेरबदल हुनसक्ने बताए । समानुपातिकतर्फ कम्तीमा १५ सिट ल्याउने पार्टीको योजनासमेत रहेको उनले बताए । उनले आफ्नो नाम समानुपातिक सूचीमा रहेको जानकारी दिए ।
सौर्य अनलाइनबाट साभार
