![]()
टीकापुर/सुदूरपश्चिम पार्टी नेतृत्वसँग असन्तुष्टी बढेपछि नेकपा (एकीकृत समाजवादी) की सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक दुर्गाकुमारी कामी (बिक) नेकपा माओवादी प्रवेश गरेकी छन् ।
उनी नेकपा एस परित्याग गर्दै शुक्रबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष प्रचण्डसँग टीका तथा खादा लगाउँदै माओवादीमा प्रवेश गरेकी हुन् ।
नेकपा एमालेबाट समानुपातिक सांसद रहेकी बिकले एमाले विभाजनताका नेकपा एस रोजेकी थिइन् । तर प्रदेश सभाका सदस्यहरु अन्य सबै मन्त्री बनाइएपनि बिकलाई मन्त्री नबनाएपछि उनी पार्टी नेतृत्वसँग असन्तुष्ट बनेकी थिइन् ।

एमालेमा ओली र नेपाल पक्षको विवाद हुँदा उनले नेपाल पक्ष रोज्दै आएकी थिइन् । विभाजनका बेला पार्टी सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलका प्रमुख सेचतक रहेका तारा लामा तामाङलाई हटाएर उनलाई बनाइएको थियो । लामा केही दिन अघि नेकपा एमालेमा फिर्ता भइसकेका छन् भने बिक माओवादी प्रवेश गरेकी छन् ।
यससँगै नेकपा एस पहिलोस्थानबाट प्रदेश सभामा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस पछि तेस्रो स्थानमा पुगेको छ । तर, असोज १ गतेबाट प्रदेश सभाको कार्यकाल करिब टुंगिने भएको छ । त्यसैले नेकपा एसले शुक्रबार नै दुईजना राज्यमन्त्रीलाई सपथ ग्रहण गराएको छ ।
