Loading

 

मैलाई गर लौ पुजा सबजना स्तूति मेरै गर ।
मेरा ती परिवारको सबमिली पुजा विधिले गर ।
मेरा अङ्ग प्रत्यङ्गको पनि यहाँ भक्ति अनेकौं गर ।
पूजा ती सबको अनित्य गर लौ प्रदेश जिल्ला घर ।

 

मै हुँ आज यहाँ धरातल विषे राजा भनेकै म हुँ ।
मै हुँ आज यहाँ चराचर विषे देवै बनेकै म हुँ ।
जैलेसम्म म छुँ अनित्य पनि लौ मै मात्र हुने म हुँ ।
शक्तिवान म हुँ यहाँ अरु सबै सारा विनास्ने म हुँ ।

 

काव्यैका त कथा थिए सुन सबै गर्ने त मात्रै म हुँ ।
साँच्चैको भगवान हुँ म त यहाँ संसार हाँक्ने म हुँ ।
मेरा माफिक छैन हेर जगमा कोही चमत्कार लौ ।
जस्ले खोज्छ मसाथ जोडि उसको बेहाल गर्दिन्छु लौ ।

 

ब्रम्हा विष्णु महुँ महेश्वर महुँ कार्तिकेय नि महुँ ।
लम्बोदर् मयुरै मुसा र नहुषै बेनै बनेको महुँ ।
इन्द्रैदेखि लिएर बालि बलिराज् कंसै बनेकै महुँ ।
धृतैराष्ट महुँ सुयोधन महुँ पासा ती फ्याँक्ने महुँ ।

 

पुत्रै मोह ममा बढी छ अहिले यो हस्तिनापुर् महाँ ।
भृाता सन्तति वीच बाँड्दछु सबै मेरा परिवारमा ।
देशैको पनि हुन्छ भाग यदिभने आधा मलाई गर ।
हुनेभो अरु त्यो कसैकन दिए हिस्सा मिलाई तर ।

 

ब्यंग कविता : डीपी दर्शन (२०७९ भदौ २८ गते )