![]()
कञ्चनपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबाट आएका नेताहरुलाई पार्टी प्रवेश गराएका छन् ।
बुधबार कञ्चनपुरको महेन्द्रनगरमा पुगेका ओलीले पार्टीद्वारा आयोजित ‘बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादीका दुई जना सांसद तारा लामा तामाङ र कुलवीर चौधरीलार्ई स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । यसैगरी नेकपा एकीकृतका सुदूरपश्चिम प्रदेश अध्यक्ष बिक्रम बहादुर शाही, माओवादी नेता मोहन गिरी, लगायत एमालेमा प्रवेश गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशका सांसद तथा पुर्व आर्थिक मामिला मन्त्री तामाङ, सांसद तथा प्रदेश सरकारका भौतिक तथा पूर्वाधार राज्यमन्त्री चौधरी, बेदकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख चन्द र अध्यक्ष शाही मूल पार्टीमै फिर्ता भएका हुन्। गिरी भने नेकपा माओवादी केन्द्रबाट प्रवेश गरेका हुन् ।
गिरीसँगै संविधान सभा सदस्य हरि क्षेत्री पनि प्रवेश गर्ने चर्चा चलेको थियो तर एक्कासी उनलाई काठमाण्डौ पार्टीले बोलाइएपछि उनी यसपटक रोकिएको क्षेत्री निकट सुत्रले बताएको छ । यस्तै कैलालीको लम्की चुहाबाट पनि माओवादी र एकीकृत समाजवादीबाट एमालेमा प्रवेश गर्ने बताइएका पनि केही नेताहरुको पहलमा अहिलेलाई टरेको छ ।
नेकपा माओवादीभित्र चरम गुटवन्दी भएको इमान्दार नेता कार्यकर्ताहरुलाई महत्व नदिइने भएकोले निर्वाचनसम्म धेरै एमाले प्रवेश गर्ने स्रोतको दाबि छ । यस्तै नेकपा एसमा पनि जिल्लामा एकाध सिट मात्र पाइने भएपछि राजनीति गर्न लागेका युवाहरु समेत पार्टी छाड्ने मनस्थितिमा पुगेको एक निकट स्रोतले बताएको छ ।
