Loading

काठमाडौं । ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले आज पाँचौँ तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा केन्यालाई ३१ रनले पराजित गरेको छ ।
नेपालका कप्तान सन्दीप लामिछानेले केन्याको नैरोवीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए ।
केन्या भ्रमणमा पहिलो पटक पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो । १७६ रनको लक्ष्य पछ्याएको केन्याले ७ विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो ।
यससँगै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला नेपालले ३(२ ले जितेको छ । नेपाल सोमबार केन्यासँग ७ रनले पराजित भएको थियो । त्यससँगै शृंखला २–२ को बराबरी भएको थियो । पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेल १८ रनले हारेको नेपालले तेस्रो खेल ४ विकेटले जितेको थियो ।
केन्याका नेहेमिह ओधियाम्बोले सबैभन्दा ३७, इरफान करिमले २८, कोलिन्स ओबुयाले २३ र कप्तान शेम एनगोचेले अविजित ३३ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछाने र वसिर अहमदले समान २ विकेट लिए । करन केसी, आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले १(१ विकेट लिए ।
त्यसअघि नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाएका थिए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । उनले अर्जुन साउँदसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीसँग दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे ।
अर्जुन साउद २९ तथा दीपेन्द्रसिंह २२ रन बनाएर पवेलियन फर्किए । ज्ञानेन्द्रले रोहितकुमार पौडेलसँग पनि तेस्रो विकेटका लागि २० रनको साझेदारी गरे ।
पवन सर्राफ १ रनमा आउँट हुँदा आदील अन्सारी ४ रन बनाएर आउट भए । विवेक यादव दुई रन बनाएर पवेलियन फर्किदा उपकप्तान रोहितले ४७ रन बनाए । करण केसी दुई रनमा अविजित रहे ।
नेपालले आज चौँथो खेलको टिममा दुई खेलाडी परिवर्तन गरेको थियो । साहब आलम र आरिफ शेखको स्थानमा विवेक यादव र वसिर अहमदलाई टिममा राखिएको थियो ।