Loading

सीता अधिकारी

कार्ल मार्क्सभन्दा पहिलेका समाजवादीहरुले पनि सुन्दर समाजको कल्पना गरेकै थिए । तर, त्यसका लागि संघर्षको बैचारिक–सांस्कृतिक जमिन निर्माण गरेनन् । राम्रो प्राप्तिको कल्पना गर्नु, सपना देख्नु एउटा कुरा हो तर त्यसलाई वास्तविकतामा बदल्न संघर्ष गर्नु अनिवार्य छ ।

वास्तवमा मार्क्सवादीहरुले समाजलाई बुझ्ने मात्र होइन बदल्ने कुरालाई प्राथमिकता दिन्छन । मार्क्सवाद भनेको केवल वौद्धिक विलासका लागि तथा आफ्नो नाम र दाम कमाउनका लागि भजिने शास्त्र होइन । यो त सारमा संघर्षको दर्शन हो । प्रगतिशील विचार, संस्कृति, जनसहभागिता र सामाजीकीकरणलाई प्राथमिकताका साथ अगाडि नबढाउँदा समाज अगाडि बढ्दैन । राजनीतिक लक्ष्य प्राप्त हुँदैन ।

एकपटक लडेर प्राप्त भएको राजनीतिक उपलब्धिको सधैं गीत गाएर, त्यसको व्याज खाएर मात्र समाज अगाडि बढ्दैन, बढ्न सक्तैन । उपलब्धिको जगमा थप उपलब्धिका लागि समाजसँग एकाकार भइराख्नु जनराजनीतिको मूल पक्ष हो । यो भनेको राजनीतिको सामाजिकीकरण हो । वास्तवमा राजनीतिक सामाजीकीकरण निरन्तर चलिरहने कठिन प्रक्रिया हो । यो कुनै लहडमा या स्वतःस्फुर्तमा हुँदैन । त्यसका लागि निश्चित मूल्य, मान्यता, संस्कृतिलाई अंगीकार गरेर निरन्तर लागिरहनु पर्छ । निरन्तर संघर्ष गरिरहनु पर्छ ।

राजनीतिक सामाजीकरण भनेको राजनीतिक संस्कृतिलाई एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण गर्ने प्रक्रिया पनि हो । राजनीतिमा भएका त्याग र वलिदानको संस्कृतिलाई स्थापित गर्दै अग्रगमन यात्राको प्रेरणा यसमा अन्तर्निहित हुन्छ ।

धेरै ठूलो त्याग र वलिदानबाट नेपालमा लोकतान्त्रिक व्यवस्था, स्वतन्त्र समाज निर्माण भएको छ । व्यवस्था बदल्न जीवनलाई जोखिममा राखेर लडेकाहरुलाई जनताको अवस्था बदल्नका लागि नेतृत्व अवसर दिनु अन्यथा हुँदैन । किनकि समाज, संस्कृति बदल्ने प्रक्रियालाई मान्छेको निश्चित आयुसँग नापेर हुँदैन । यसले केही लामो समय लिनसक्छ, लिन्छ । मान्छेको इमान्दारिता र नियतमा यसलाई निरन्तर परीक्षण गर्न आवश्यक छ । हिजो लडेको मान्छे सधैं सही हुन्छ भन्ने चाहिं होइन, हुँदैन । व्यक्ति, नेता पतन हुन पनि सक्छ ।

तर, कुनै अमुक पार्टी नेता तथा कार्यकर्ताहरुले आफूलाई केन्द्रमा राखेको छ कि देश, उत्पीडित वर्ग र उत्पीडित समुदायलाई केन्द्रमा राखेको छ भनेर व्यवहारको कसीमा परीक्षण गरिहनु पर्छ । यदि कसैको बोली र व्यवहारमा अन्तरविरोध छ, ऊ आत्मकेन्द्रित व्यक्तिवादी छ अर्थात् आफ्नो हितलाई मात्र केन्द्रमा राखेर सोंच्छ भने बुझौं ऊ इमान्दार होइन । यो राजनीतिक परिवेशमा आफूलाई अनावश्यक ‘शो’ गर्नेहरु चल्तापुर्जा, टाठाबाठा कहलिन सक्छन । तर, त्यो अस्थायी हो ।

खुल्ला लोकतान्त्रिक समाजमा राजनीतिक सामाजीकीकरणमा मुख्यतः अनौपचारिक प्रक्रियाको मुख्य भूमिका हुन्छ । औपचारिकतावाद, प्रशासनिक प्रणालीबाट मात्र अगाडि बढ्दा त्यसले पार्टी, नेता र आन्दोलनलाई कमजोर बनाइदिन्छ ।

राजनीतिक परिवेश बदलिएसँगै संघर्ष गर्ने तरिका पनि बदल्न सक्नुपर्छ । समाज सूत्र पढेर बदलिदैंन । हो, संघर्ष निरन्तर चलाइरहनु पर्छ । सत्य स्थापित गर्न समाजमा कहिले तीब्र संघर्ष हुन्छ र कहीले सुसुप्त हुन्छ । संघर्षको तरिका, स्वरुप फरक हुनसक्छ । सत्यका लागि नेतृत्व गरेका पार्टीहरुले जब सत्य स्थापित गर्न लड्दैनन्, आफ्नो सही मुद्दालाई सामाजीकरण गर्न सक्तैनन् भने बुझ्नुपर्छ त्यो पार्टीको सान्दर्भिकता सकियो ।

केही दशकदेखि एउटा ठूलो विश्वास, आदर्श मानिएको माओवादी केन्द्रले पछिल्लो समयमा जनअपेक्षाकृत काम नगरेकाले जनतामा असन्तुष्टि बढेको हो, यसै कारण स्वतन्त्र पार्टी र व्यक्तित्वको शहरी क्षेत्रमा, अझ खासगरी काठमाडौंमा आकर्षण बढेको हो । स्वतन्त्रसँग समाज बदल्ने विश्वासिलो अजेण्डा भएर होइन तर एउटा विश्वास भएको, आदर्श सोंचेको पार्टीप्रतिको असन्तुष्टि र आक्रोसको रुपमा यो आएको छ ।

२०६४ सालको संविधानसभाको निर्वाचनमा काठमाडौंमा त्यस्तो राम्रो मत ल्याएको माओवादी पछिल्ला चुनावमा किन कमजोर भयो ? यसपटकको काठमाडौं महानगरपालिकामा माओवादी केन्द्रले एउटा पनि प्रतिनिधि किन जिताउन सकेन भन्ने कुरा पार्टी नेतृत्वले गम्भीरतापूर्वक समीक्षा गर्नुपर्छ । जनतामा जोडिएका, सामाजीकरण भएका उम्मेदवारलाई पार्टी नहेरी सचेत काठमाडौंवासी मतदाताताले छानी छानी मत दिएका छन् । पार्टी हेरेका छैनन् तर पार्टीको औपचारिक नेतृत्व, प्रशासनिक नेतृत्व, जो सामाजीकरण छैनन्, लाई जनताले मत दिएका छैनन् । तिनलाई पार्टीका नेता तथा कार्यकर्ताको मात्र मत परेको छ ।

स्थानीय निर्वाचनको सुक्ष्म समीक्षा नगर्दै फेरि संघ र प्रदेशको निर्वाचनको चटारोमा हामी परेका छौं । काठमाडौं जस्तो सचेत मतदाता भएको ठाउँमा गठबन्धन हुने वित्तिक्कै, सामाजीकीकरण नभएको, औपचारिक पार्टी नेतालाई हठात अघि सारियो भने त्यसले परिणाम स्थानीयको जस्तै हुनेछ ।

राजनीति पेशा नभएर जनसेवा हो । पार्टी विचार हो । राजकीय क्षेत्र त्यो विचारलाई स्थापित गर्न, लागू गर्नका लागि महत्वपूर्ण मोर्चा हो । फरक फरक क्षेत्रबाट निश्चित उद्देश्य प्राप्तिका लागि एकीकृत योजनाका राजकीय जिम्मेवारीमा जानुपर्छ । पार्टीको महत्वपूर्ण पदलाई सरकारी मोर्चामा जाने भ¥याङको रूपमा बुझ्नु हुँदैन । किनकि माओवादी केन्द्र परम्परावादी संसदवादी पार्टी होइन ।

राजधानी काठमाडौंमा राजकीय क्षेत्रमा जानका लागि स्थानीय, सामाजीकीकरण भएका नेता तथा कार्यकर्ताहरुलाई अगाडि सार्नुपर्छ । पार्टीभित्रका स्थापित नेताहरुलाई वाहिरको भूगोलबाट ल्याएर अगाडि बढाउँदा, हरेक पटकको निर्वाचनमा नयाँ नयाँ अनुहार ल्याउँदा समस्या परेको छ । निर्वाचन जिते या हारे पनि फिल्डमा नै रहने रैथानेहरुलाई अगाडि सार्नु सही हुन्छ । यसो गर्दा स्थानीय वा रैथाने नेता स्थापित हुन्छन, अर्काे पटकका लागि वातावरण बनाउँछन् ।

यतिवेला हरेक पार्टीमा एउटा भनाइ आइरहेको छ, भूगोलले चिनेको, भूगोललाई माया गर्नेलाई निर्वाचनमा उठाउनु पर्छ । काठमाडौंको हकमा त्यो झन बढी उठ्ने गरेको छ । आफ्नो सापेक्षतामा विकास गरेका, स्थानीय नेताहरुलाई पन्छाएर ‘टुरिष्ट’ उम्मेदवार ल्याउँदा परिणाम नकारात्मक आउन सक्छ । पार्टीका नेता तथा कार्यकर्ताहरुले त चित्त नबुझे पनि पार्टीको निर्णय मानेर जालान तर जनता, आममतदाताहरू पार्टी निर्णय मान्न बाध्य हुँदैनन् ।

झिल्कोडटकमबाट