Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको आठ महिनापछि पदाधिकारी टुंगो लगाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारी टिम टुंगो लगाएको हो, जसमा महासचिव देव गुरुङ छन् ।
पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव प्रस्ताव गरेका थिए । महासचिवमा गुरुङसँगै ७ जनाको दाबी थियो । तर अध्यक्ष प्रचण्डले अरु दावेदारहरुलाई उपमहासचिवमा व्यवस्थापन गरेका छन् ।
महासचिवमा दावी गर्दै आएका गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव भएका छन् ।
प्रचण्डको पूर्व घोषणाअनुसार नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष भए । उपाध्यक्षमा ल्याउने भनिएका दिनानाथ शर्मा र गणेश साह सचिव भएका छन् ।
उनीहरुसँगै चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की पनि सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।
यो पदाधिकारी टिम विशेष महाधिवेशन नहुँदासम्मका लागि भनिएको छ । ‘अहिलेका लागि यो सन्तुलित र निर्वाचनलाई ध्यान दिएर गरिएको हो,’ उपाध्यक्ष महराले बैंठकपछि पत्रकारहरुसँग भने, ‘विशेष महाधिवेशनमा नयाँ सोच आउँछ ।’
विचारको विकास र संठगनात्मक प्रणाली निर्माणका लागि विशेष महाधिवेशन गर्ने भनिएको छ, तर मिति भने तय भएको छैन ।

को हुन् देव गुरूङ
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले देव गुरूङलाई महासचिव बनाएको छ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले महासचिवमा देव गुरूङसहित २० पदाधिकारीको नाम प्रस्ताव गरेका थिए। बैठकले सर्वसम्मत रूपमा पदाधिकारी पारित गर्ने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले महासचिव बनाएका गुरूङ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक समेत हुन्। उनी लमजुङबाट निर्वाचित सांसद हुन्। माओवादी केन्द्रभित्र गुरूङ संसदीय मामिलाका जानकार र अध्ययनशील नेता मानिन्छन्। वि।सं २०१५ कात्तिक २२ गते मनाङ, नाशोङ गाउँपालिका ४ मा जन्मेका गुरूङले स्नातकोत्तर गरेका छन्।
विद्यार्थी राजनीतिबाटै मूलधारको राजनीतिमा सक्रिय भएका गुरूड संविधान र कानून निर्माणका विषयमा बढी चासो राख्छन्। उनले २०३६ सालमा नेकपा (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा सुरू गरेका हुन्।
चौथो महाधिवेशनको परिवर्तित नाम नेकपा (मशाल) मा २०३८ सालमा उनी केन्द्रीय सदस्य बनेका थिए। त्यसपछि उनी २०५१ मा माओवादीमा आबद्ध भई पोलिटब्यूरो सदस्य चुनिए। २०६१ मा तत्कालीन नेकपा माओवादीको स्थायी समिति सदस्य बने। २०७४ मा भने उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य बने। २०६३ को अन्तरिम संसदबाट उनले संसदीय राजनीतिको यात्रा सुरू गरे। २०६४ सालमा कास्की र मनाङबाट निर्वाचित भएका गुरूङ २०६९ सालमा मोहन वैद्य, रामबहादुर थापा लगायतका नेतासँगै तत्कालीन एकीकृत माओवादीबाट बाहिरिएका थिए। २०७० को निर्वाचन बहिष्कार गरेका गुरूङ २०७३ सालमा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएका हुन्।

२०५२ सालमा माओवादी केन्द्रले जनयुद्ध सुरू गर्दाको समयमा समेत उनी केन्द्रीय कमिटीमा थिए। उनी जनयुद्धमा केही समय गिरफ्तारीमा परेका थिए। २०६९ मा तत्कालीन सरकार र माओवादी केन्द्रको दोस्रो चरणको वार्तामा उनी सदस्य थिए। त्यस्तै, माओवादी शान्ति प्रक्रियामा आउँदा समेत उनी वार्ता समिति सदस्य थिए।
माओवादी केन्द्रमा उनी चौथो वरीयताको नेता हुन्। वरीयता अनुसार जिम्मावारी दिने भन्दै प्रचण्डले गुरूङलाई महासचिव बनाएका हुन्। गुरूङ शान्ति प्रक्रियामा आएपछि अवसर पाउने माओवादी नेताको सूचीमा पर्छन्। उनी दुई पटक स्थानीय विकास मन्त्री भएका छन् भने एकपटक कानुन मन्त्री भएका छन्।

प्रचण्डको कुनैबेला कट्टर आलोचक भनेर चिनिने गुरूङ २०७३ यता भने निकट भएका छन्। आफ्ना हरेक गतिविधिलाई साथ दिने भएर नै प्रचण्डले गुरूङलाई आफू पछिको शक्तिशाली महासचिव बनाइएको माओवादी वृत्तमा चर्चा छ।