Loading

डा. शरद वन्त

नेपालमा तरकारीमा प्रयोग गरिने औषधिको आयात बढ्दो छ । र, विषादीको प्रयोग पनि बढ्दो छ । विषादी जनस्वास्थ्यका हिसाबले कति ठूलो समस्या हो भन्ने कुराको नेपालमा अध्ययन भइसकेको छैन । तैपनि विषादी स्वास्थ्यका लागि नकारात्मक प्रभाव पार्ने तत्व हो भन्ने कुरा स्थापित भइसकेको छ । यद्यपि तरकारीमा प्रयोग गरिने विषादीले मानव स्वास्थ्यमा कस्तो खालको, कसरी र कति असर गरेको भनेर हामीले अनुसन्धान गर्न सकेका छैनौँ ।स्वास्थ्य प्रणालीभित्र विषादीले पारेको असर बारे तथ्यांक, अभिलेख राख्ने प्रणालीको पनि विकास भइसकेको छैन । यसले गर्दा जनस्वास्थ्यमा विषादीले कस्तो खालको असर गरेको छ भन्ने तथ्यांक छैन । तैपनि विषादीले जनस्वास्थ्यमा पार्ने समस्या भने छ । कृषिमा विषादी प्रयोग गरिने विषादीले जनस्वास्थ्यलाई असर गर्छ । तैपनि नेपालमा विषादीको किन बढ्दै गएको होला ? भन्ने विषयमा अध्ययन जरुरी छ ।

माटोको उत्पादकत्व क्षमतामा ह्रास आउँदै गएको छ । त्यसैले पनि उत्पादन बढाउन रासायनिक मलको प्रयोग बढ्दो छ । जब रासायनिक मलको प्रयोग बढी हुन्छ । तब विरुवाको प्रतिरोधात्मक क्षमता कम हुन्छ । विरुवाको प्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि विभिन्न किटाणुहरूले असर पार्छ । त्यही किटाणुलाई मार्न विषादीको प्रयोग गरिन्छ । त्यसैले पनि यहाँ विषादीलाई विषादीको रूपमा भन्दा पनि उपचारको रूपमा हेर्ने गरिन्छ । जति रासायनिक मलको प्रयोग बढ्दै जान्छ । त्यति नै माटोको उत्पादनशीलतामा पनि कमी आउँदै जान्छ । माटोको उत्पादनशीलतामा कमी आउन थालेपछि विषादीको प्रयोग पनि बढ्दै जान्छ । नेपालमा कृषकहरूले उत्पादन गर्ने तरकारीहरूमा मात्र नभई आयातित तरकारीहरूमा पनि विषादीको प्रयोग बढी छ । त्यसैले पनि हामी कहाँ विषादीको दोहोरो भार छ ।

कृषिमा प्रयोग गरिने विषादीले कस्तो निम्त्याउने स्वास्थ्य समस्याहरू बारे जनचेतनाको कमी देखिएको छ । विषादीले स्वास्थ्यमा दुई किसिमको असर गर्छ । पहिलो तत्कालीन र दोस्रो हो दीर्घकालीन । छालामा हुने विभिन्न प्रतिक्रिया र स्नायु सम्बन्धी समस्याहरू तत्काल पार्न सक्छ । कतियले त आत्महत्याको लागि पनि विषादीको प्रयोग गरिरहेका हुन्छन् । विषादीले दीर्घकालमा पार्ने प्रभावहरू भने बहुआयामिक हुन सक्छ । विषादीले शरीरको विभिन्न प्रणालीमा नकारात्मक असर पार्न सक्छ । स्नायु प्रणालीमा समस्या ल्याउनेदेखि क्यान्सर, छालासम्बन्धी रोग, मिर्गौला सम्बन्धी रोगदेखि नसर्ने रोगहरूलाई बढाउन सक्छ ।

यो सँगै हामीले एक अध्ययन गरेका थियौँ । जसमा गर्भावस्थामा महिलाहरू विषादीको सम्पर्कमा आउँदा नवजात शिशुको तौल घटाउने गरेको पाएका थियौँ । शिशुको तौल घट्ने बित्तिकै विभिन्न रोग लाग्न सक्ने संभावना हुन सक्छ । विषादीले स्वास्थ्यमा पारेको असरबारे बृहत् अध्ययन गरेर रेकर्ड गर्न सकिरहेका छैनौँ । नेपालमा मिर्गौला फेल, क्यान्सर लगायतका नसर्ने रोगहरू बढीरहेका छन् । यी नसर्ने रोगहरू बढ्नुमा कतै यसको भूमिका पो छ कि ? तैपनि अध्ययन नभएका कारण हामीले यो कुरा स्थापित गर्न सकेका छैनौँ । विषादीले स्वास्थ्यमा पार्ने असर बारे अनुसन्धान गर्नुपर्ने ठूलो आवश्यकता छ ।

गर्भावस्थामा विषादीको सम्पर्कमा आएका आमाहरूले कम तौल भएका बच्चाहरू जन्माउने जोखिम बढेकोसम्बन्धी अध्ययन नेपाल जनस्वास्थ्य प्रतिष्ठानले गरेको अध्ययन थियो । हामीले चितवनका केही अस्पतालहरूमा गर्भवती महिलाहरूमा किटनाशक रसायनले कस्तो खालको असर गर्ने रहेछ भनेर गरिएको अध्ययन हो । हामीले उहाँहरूसँग गर्भावस्थामा किटनाश रसायनसँग सम्पर्कमा आए/नआएको बारेमा कुराकानीमार्फत सोधेका थियौँ । यद्यपि हामीले परीक्षण भने गर्न सकेका छैनौँ । सोधेको भरमा विषादीको सम्पर्कमा उनीहरू आए÷नआएको बारे तुलना गरेका थियौँ । विषादीको सम्पर्कमा आउने र नआएको बीच तुलना गर्दा विषादीको सम्पर्कमा रहेका महिलाहरूले जन्माएको बच्चाहरू कम तौल भएको पायौँ । यद्यपि यो सानो अध्ययनले अहिले नै बृहत् रूपमा अरू जनसंख्यामा सामान्यीकरण गर्न गाह्रो छ । तैपनि यसले हामीलाई एउटा खतराको संकेत भने दिएको छ । यो अध्ययन हामले दुई वर्षअघि गरेका थियौँ ।

क्यान्सर बढाउन पनि विषादीको भूमिका छ कि भनेर हामीले अध्ययन गर्ने तयारी गरेका छौँ । हुन त हाम्रो जस्तो एउटा सानो संस्थाले गरेको अध्ययनले पुग्दैन । यसको लागि राज्यस्तरबाटै अध्ययन अनुसन्धान गरिनुपर्छ । मानव स्वास्थ्य जोगाउन प्रांगारिक (अर्गानिक) खेतीतर्फ जानुपर्छ भन्दै प्रतिष्ठानले सरकारलाई सुझाव पनि दिएको थियो । किनकी कृषिमा प्रयोग हुने किटनाशक विषादीले दीर्घकालीन रूपमा मानव स्वास्थ्यमा असर त पार्छ नै । जनस्वास्थ्यका हिसाबले यो अति नै हानीकारक छ । मानव स्वास्थ्यसँगै जमिनको क्षमता बारे पनि सोच्नुपर्छ । हाल प्रयोग गरिएका विषादी भोलिको दिनमा कम प्रभावशाली भएर यो भन्दा कडा खालको विषादी प्रयोग गर्नुपर्ने अवस्था पनि आउला । त्यतिखेर झन् जनस्वास्थ्यमा कस्तो असर पर्ने होला ? त्यसैले दीर्घकालीन रूपमा विषादीको विकल्प हामीले खोज्नैपर्छ ।

किटनाशक औषधि कृषिमा प्रयोग गर्नुभन्दा पहिला नेपालमा औँलो रोगको लामखुट्टे मार्न प्रयोग गरिन्थ्यो । औँलो उन्मुलन गर्न सहयोग गर्छ भनेर यसको प्रयोग गरियो । अन्ततः यो घातक सिद्ध भएर यसलाई बन्द नै गर्नुप¥यो । त्यसलाई बन्द गराउन धेरै ठूलो चुनौतीहरू पनि आए । त्यसैगरी हाल देखिएको यो जनस्वास्थ्यको समस्या हल गर्न दीर्घकालीन रूपमा प्रांगारिक खेती हाम्रो लागि लक्ष्य हुनुपर्छ । तुरुन्तै प्रांगारिक खेतीतर्फ जान सकिने वातावरण बन्दैन । यसको लागि धेरै पहल र काम हुनुपर्छ । तर सुरुआत भने गर्नुपर्छ । एकैपटक प्रांगारिक खेतीतर्फ जान सकेनौँ भने विषादीको प्रयोग कम गर्दै जानुपर्छ । विषादीको प्रयोगका क्रममा अपनाउने सुरक्षाका विधिहरू पनि उत्तिकै महत्वपूर्ण साथ कार्यान्वयन हुनुपर्छ ।

कृषिमा विषादीको प्रयोग मात्र नभई विषादीको असुरक्षित र अव्यवस्थित व्यवस्थापन पनि जोखिमका कारण हुन् । विषादीको असुरक्षित व्यवस्थापन पनि यही भित्र पर्छन् । विषादीको प्रयोग बढ्नुको पछाडि यसको संख्यात्मक कारण मात्र होइन । यसको व्यवस्थापनको पाटाहरू पनि छन् । विषादीको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षाका विधिहरू, प्रयोग गर्दा र प्रयोग गरिसकेपछिका विषयहरू पनि उत्तिकै महत्वपूर्ण छन् । कृषिमा विषादी प्रयोग गरेपछि कुर्नुपर्ने केही निश्चित समय हुन्छन् । त्यो समय पछाडि उपभोग ग¥यौँ भने असर कम हुन्छ । तर यहाँ त आज नै विषादी हालेका छौ भने भोलि नै खपत हुन्छ ।

किटनाशक रासायन राखेको भाँडाहरू कसरी प्रयोग भइरहेका छन् ? बढी भएका विषादीहरू कहाँ र कसरी व्यवस्थापन गर्छौं ? यो जहाँ मन लाग्छ, त्यहाँ फाल्दा यसले मानिसलाई मात्र होइन वातावरणलाई पनि असर गर्छ । त्यसैले यसको बहुआयामिक पक्षहरू छन् । झण्डै ६ वर्षदेखि हामीले चितवनका कृषकहरूलाई लक्षित गरी कार्यक्रम गरिरहेका छौँ । उनीहरूलाई तालिम दिने, कसरी विषादीको प्रयोग न्यूनीकरण गर्ने, वैकल्पिक कुराहरू के हुन सक्छन् भन्ने विषयमा केन्द्रित रहेर सैद्धान्तिक र व्यावहारिक तालिमहरू दिन्छौँ । कृषिमा व्यवसायिक रूपमा विषादी छर्कने व्यक्तिहरूलाई सुरक्षाका विधिहरूबारे तालिम दिएका छौँ । विषादीको बिक्री वितरण गर्ने भेटेरिनरी फर्मासिस्टहरूलाई पनि कृषकहरूलाई कसरी परामर्श गर्ने भन्ने बारेमा अभिुमुखीकरण गरेका छौँ । किनभने कृषकहरूले भेटेरिनरीबाट विषादी खरिद गर्दा प्रयोग गर्ने विधि र सुरक्षाका उपाय बारे राम्रोसँग जानकारी लिए भने त्यसलाई कार्यान्वयन गर्न केही मद्दत मिल्छ । स्वास्थ्यकर्मीसँगै, शिक्षक र विद्यार्थीहरू माझ पनि कार्यक्रम गरेका छौँ । नीति निर्माण गर्ने तहका व्यक्तिहरूसँग भने विषादी न्यूनीकरणका लागि सहकार्य गरिरहेका छौँ ।

हाल भने हामी उपभोक्ताहरूमा पनि केन्द्रित भएका छौँ । किनभने उपभोक्ताहरू आफैँले बजारमा गएर प्रांगारिक उत्पादनको खोजी गर्दैनाँै । एकदम राम्रो टल्कने खालका तरकारी र फलफूलहरू नै उपभोक्ताहरूले रोज्ने गर्छन् । तर प्रांगारिक मलको प्रयोग गरिएका उत्पादनहरू हेर्दा राम्रो टल्कने खालको नदेखिन पनि सक्छ । त्यसैले उपभोक्ताहरूबाटै प्रांगारिक उत्पादनको माग बढाउनुपर्छ ।

उपभोक्तामा विषादीको असर र यसको प्रयोग सम्बन्धीको सचेताको स्तर अझैमाथि उठीसकेको छैन । केही व्यक्तिहरू विषादिप्रति सचेत देखिन्छन् । तर त्यो पर्याप्त छैन । उपभोक्ताहरूमा त्यो सचेतना बढाउन आवश्यक छ । त्यसैले हामीले अहिले उपभोक्तालाई लक्षित गरी सचेतनाका कार्यक्रमहरू पनि गर्दैछौँ । सबैभन्दा पहिले त उपभोक्ताहरूमा विषादीले स्वास्थ्यमा पार्ने असर बारे चेतना आउनु जरुरी छ । विषादी प्रयोग गरिएका तरकारी छुट्याउन सबैलाई सहज हुँदैन । हेरेकै भरमा छुट्याउन गाह्रो पनि हुन्छ । उपभोक्ताहरूबाटै प्रांगारिक उत्पादनको माग हुनुपर्छ । यसको लागि प्रांगारिक उत्पादनको लागि बजारको छुट्टै व्यवस्थापन हुनुपर्छ । एकै ठाउँमा तरकारी बिक्रीका लागि राखिएको छ भने पनि यो प्रांगारिक उत्पादन हो भनेर छुट्याउनुपर्छ ।

विषादीको प्रयोग बढ्नुको अर्को कारण बजार व्यवस्थापन नहुनु पनि हो । रासायनिक र प्रांगारिक मल प्रयोग गरिएका उत्पादनको बिक्री हुने थलो एउटै छ । त्यसैले उपभोक्ताहरूले हेरेकै भरमा छुट्याउन सक्दैन । उनीहरूलाई प्रांगारिक उत्पादनतर्फ आकर्षण बढाउन छुट्टै बजार व्यवस्थापनको आवश्यकता छ । उपभोक्ताहरूमा प्रांगारिक उत्पादनको सचेतना र माग दुवै हुनुपर्छ ।

कृषिमा विषादीको प्रयोग न्यूनीकरण गर्न राष्ट्रिय स्तरबाटै पहल हुनुपर्छ । कम्तीमा मुद्दाहरू उठेका छन् । नीतिगत रूपमा पनि केही सुरुआत भएको छ । स्थानीयदेखि प्रदेश सरकार यो सम्बन्धी रणनीति बनाउने प्रक्रियामा पनि छ । तर यो भनेको सुरुआत मात्र हो । यत्तिले मात्र समस्या सम्बोधन हुँदैन । विषादी नियन्त्रणका लागि बनेका नीति कार्यान्वयनका लागि निर्देशिका हुनुप¥यो । निर्देशिका पालना भए÷नभएको अनुमगन गर्नुपर्ने संयन्त्रण हुनुप¥यो । भएका नीतिहरू प्रभावकारी रूपमा पालना हुन पनि उत्तिकै जरुरी छ । प्रांगारिक कृषि बढाउनेसँगै किटनाशक विषादीको प्रयोग कम गर्ने प्रतिवद्धता राज्यले गर्नुपर्छ । विषादीको प्रयोग कम गर्नका लागि आवश्यक विधिहरू पहिचान गर्नुपर्छ । ती विधिहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता र संयन्त्रण निर्माण गर्नुपर्छ ।

प्रांगारिक मलको प्रयोगको प्रयोग गरिरहेका कृषकहरूले उत्पादकत्वमा कमी आउँदैन भन्ने पनि गरेका छन् । जति रासायनिक मलले उत्पादन दिन्छ, त्यति नै प्रांगारिकबाट पनि उत्पादन हुन्छ भन्ने उनीहरूको दाबी छ । यदी, त्यस्तो हो भने प्रांगारिक खेती गर्ने कृषकहरूलाई उत्प्रेरित गर्नुपर्छ । प्रांगारिक मलको उत्पादन र प्रवद्र्धन गर्ने वातावरण सरकारले बनाई दिनुप¥यो । बजार व्यवस्थापनमा उनीहरूलाई केही टेवा पुग्ने गरी सहयोग गर्नुपर्छ । आयातित कृषि उत्पादनमा हुने परीक्षणलाई प्रभावकारी बनाउनुपर्छ । विषादी प्रयोग गरिएका उत्पादनलाई बन्देज गर्ने वा दुरुत्साहित गर्न अत्यन्तै जरुरी छ । नभए यहाँ प्रांगारिक खेती गरिए पनि बाहिरबाट विषादी प्रयोग गरिएका उत्पादनहरू आइरहे भने यसको अर्थ हुँदैन । राज्यले उपभोक्तालाई केन्द्रित गरी कार्यक्रम ल्याउनुपर्छ ।

यो मुद्दा अहिलेसम्म जनस्वास्थ्यको विषय पनि बनेको थिएन । स्वास्थ्य नीतिमा यसले बल्ल बल्ल प्रवेश पाएको छ । जनस्वास्थ्यको आँखाबाट हामीले भनिरहँदा यो समस्या स्वास्थ्यको क्षेत्रबाट मात्र समाधान हुने विषय होइन । जनस्वास्थ्य, कृषि, अर्थ, व्यापार, वाणिज्य सबै यसमा जोडिएको छ । र, यी सबै निकायबाट यो समाधानका लागि अग्रसर हुनु आवश्यक छ । हिजो यो कृषिको मात्र मुद्दा हुन्थ्यो । जनस्वास्थ्यका विषय जोडिदैन थियो । अहिले विषादीलाई जनस्वास्थ्यसँग पनि जोडिएर हेर्न थालिएको छ । बहुआयामिक र बहु क्षेत्रबाट मात्र यो प्रयास संभव हुन सक्छ । किटनाशक विषादीको प्रयोग र जनस्वास्थ्यका मुद्दाहरूले राष्ट्रिय नीतिहरूको ध्यान पुग्न सकेको छैन । सरकारको थुप्रै एजेन्डाहरू छन् । अब यो मुद्दालाई पनि प्राथमिकतामा राखिनुपर्छ । जनस्वास्थ्यको क्षेत्रमा यो थप समस्या हो । यसलाई पनि प्राथमिकतामा राखेर कार्यक्रमहरू आउनुपर्छ ।

सौर्य अनलाइनबाट