Loading

काठमाडौं । सरकारले प्लास्टिकको झोला उत्पादन र प्रयोगमा कडाइ गर्ने भएको छ ।

सरकारले करिब एक वर्षअघि नै निश्चित मापदण्डभन्दा विपरीत प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमा नआएपछि यसमा सरकारले कडाइ गर्ने निर्णय लिएको हो । अब निश्चित मापदण्ड विपरीतका प्लास्टिकको झोला आयात, उत्पादन, बिक्री र प्रयोगमा कडाइ गर्न लागिएको वातावरण विभागले जनाएको छ । 

विभागले सार्वजनिक सूचना जारी गर्दै यसको नियन्त्रणका लागि कडाइका साथ अनुगमन गर्ने र कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । प्रतिबन्धित झोला प्रयोग गरेको पाइएमा वातावरण संरक्षण ऐन र नियमावली अनुसार कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ ।

वातावरण विभागद्वारा जारी सूचनामा आगामी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गर्ने उल्लेख छ । सरकारको निर्णय विपरीत ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री गरेको पाइए वातावरण संरक्षण ऐन–२०७६ र वातावरण संरक्षण नियमावली–२०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

सरकारले यसअघि ०७८ साल असोज १९ गते मापदण्ड विपरीतका प्लास्टिकको झोलामा प्रतिबन्ध लगाएको थियो । माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा आएको थियो । 

जसअनुसार, वातावरणमा प्रतिकूल असर गर्ने ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन र प्रयोग गर्न पाइँदैन । प्रतिबन्ध लगाइए पनि कोरोना महामारी लगायतका कारणले प्रभावकारी अनुगमन हुन नसक्दा प्लास्टिक झोलाको प्रयोग बढिरहेको विभागले जनाएको छ ।