Loading

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अंकलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका साथ विद्यार्थीको विवरण रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको हो’, उनले भने । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको रायमाझीको भनाइ छ ।

शिक्षाका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक– शिक्षिका निर्वाचनमा खटिएकाले परीक्षणमा केही ढिला भएकाले नतिजा सार्वजनिक गर्न समय लागेको उनले बताए । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक भएपनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक रायमाझीले जानकारी दिए ।

यसरी हेर्न सकिन्छ एसइईको नतिजा

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अंकल्याउनुपर्ने व्यवस्थामा जोड दिएको छ ।

गएको वैशाख ९ गतेदेखि २० गतेसम्म भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए । एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस ३५००१, ३४९४९, ३१००३ र १६०० र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।

यस पटकदेखि एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ । सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरिएको छ । यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो । यसपटक प्रयोगात्मक र सैद्धान्तिकतर्फको प्राप्ताङ्कलाई फरक–फरक ग्रेड निर्धारण गर्न लागिएको हो । सबै विषयको ग्रेडलाई एकीकृत गरेर परीक्षाको समग्र नतिजामा जीपीए निर्धारण गरिनेछ । एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार आठवटा ग्रेड निर्धारण गरिनेछ। परीक्षार्थीको प्राप्ताङ्कअनुसार ९० भन्दा माथि ल्याउनेलाई ‘ए’ प्लस ग्रेड मानिनेछ, जसलाई जीपीए ४ दशमलव ० दिइनेछ ।

८० देखि ९० अङ्कसम्मकालाई ‘ए’ ग्रेड मानिनेछ, जसलाई जीपीए ३ दशमलव ६ दिइनेछ । त्यस्तै ७० देखि ८० अङ्कसम्मलाई ‘बी’ प्लस ग्रेड मानिनेछ, जसलाई जीपीए ३ दशमलव २ दिइनेछ । ६० देखि ७० अङ्कसम्मलाई ‘बी’ ग्रेड मानिनेछ र त्यसलाई जीपीए २ दशमलव ८ दिइनेछ । ५० देखि ६० अङ्कसम्मकालाई ‘सी’ प्लस ग्रेड दिई जीपीए २ दशमलव ४ मानिनेछ । ४० देखि ५० अङ्कसम्मकालाई ‘बी’ प्लस ग्रेड मानिने र जीपीए २ दशमलव ० दिइनेछ । त्यस्तै ३५ देखि ४० सम्मकालाई ‘डी’ ग्रेड मानिने र जीपीए १ दशमलव ६ दिइनेछ ।
यस्तै यी वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।