![]()
काठमाडौं, जेठ / आगामी साउन १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पानीफोटो’को डायनामिक मोसन पोस्टर सार्वजनिक भएको छ । यसै साता निर्माण टिमले फिल्मको फस्ट लुक मोसन पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।
पछिल्लो समय कलाकार निर्देशक स्वयं दर्शकसँग साक्षात्कर हुँदै चलचित्रको बारेमा जानकारी दिने प्रचलन बढेको छ । निर्देशक लामिछानेले बलिउडतिर चलेको सोही चलनलाई पछ्याउँदै चलचित्रको सम्पूर्ण जानकारी दर्शकसँग बाँडेका छन् । उनले आफू निर्देशनमा आउनुको कारण सपना रहेको बताएका छन् । आफू सहित अनुप बराल, मेनुका प्रधान र मलिका महतको लुक्स सार्वजनिक गर्दै उनले सपनाको जवाफ नहुने बताए ।
चलचित्रमा माओवादी जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा बसेका बाबुआमाको कथा समेटिएको छ । ‘पानीफोटो’ दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको चलचित्र हो । स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई चलचित्रको स्वरुप दिएका हुन् । छोरा कुरेर बस्ने बाबुआमाको कथा प्रस्तुत गर्ने चलचित्र खगेन्द्र लिखित यही नामको नाटकको फिल्मांकन हो ।
खगेन्द्रले सार्वजनिक भिडियोमा भनेका छन्, ‘लेखक र कलाकार हुँदा हुँदै किन निर्देशक बनेको रु धेरैले सोध्नु हुन्छ । तर, एउटा चलचित्र भएपनि निर्देशन गर्ने मेरो सपना थियो । र, सपनाको जवाफ हुँदैन’। खगेन्द्रको यो पहिलो डेब्यु चलचित्र हो।
दीपक बज्राचार्यको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ। ‘पशुपति प्रसाद’ र ‘धनपती’ जस्ता नेपाली मौलिक स्वादका चलचित्रको निर्माण गरेको टुकी आर्टस् प्रा।लिले मञ्जुश्री फिल्मस् प्रोडक्सनसँगको सहकार्यमा ‘पानीफोटो’ निर्माण गरेको हो । चलचित्रको निर्माता रोजिना सिटौला र रबिन्द्र बज्राचार्य हुन् ।
चलचित्रमा खगेन्द्रबाहेक अनुप बराल, मेनुका प्रधान र मालिका महत प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, रमेश अधिकारी, कमलमणी नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्याम कुमार खड्का लगायत अन्य चर्चित कलाकारहरुको अभिनय छ ।
झिल्कोबाट
