Loading

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई आफ्नै नेताहरुबाट जोगाउनुपर्ने अवस्था उत्पन्न भएको बताएका छन् ।

एमाले जनसमन्वय संगठनको बैठकलाई बिहीबार पार्टी मुख्यालय च्यासलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टी बिभाजनपछि एकमना एकता कायम भैसक्यो भनिएता पनि एमाले अरुको कारण नभइ आफ्नै नेताहरुको कारणले हारेको र एमालेलाई अरुबाट भन्दा पनि आफैभित्रबाट अझै खतरा रहेको उनले बताए ।

उनले भने, ‘यस्तो हो भने त अनुशासनहीन फौजले अरु लडाइँ जित्न सक्दैन अनि अन्तर्घाती पृतनापति, बाहिनीपति, गणपति, गुल्मपति साथमा रहिरहेसम्म सेनापतिले सेनाको चुस्त कमाण्ड पनि त गर्न सक्दैन् ।’ अन्तर्घात गरेको निष्कर्ष सुनाइसकेपछि आफुतिर लक्षित गर्दै ओलीले भने, ‘कोर्टमार्शल गरिएन भने सेनापतिले नैतिकताको आधारमा टोपी निकालेर टेबलमा राख्नुको विकल्प पनि हुँदैन ।’

उनले भने, ‘आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो, नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन, यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’