![]()
काठमाडौं, १७ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट छुट्टिएर गएका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र धर्मेन्द्र वली ‘सुदर्शन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले असारमा राष्ट्रिय भेला गर्ने भएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी पुनर्गठनपछि गत जेठ ११ र १२ गते बसेको क्रान्तिकारीको विशेष बैठकले आगामी असार १२, १३ र १४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।
बैठकले मिलन राईको संयोजकत्वमा विरेन्द्र शाह र रुपा बुढामगर सह–संयोजक रहनेगरी ७५ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ । ‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि जुझारु संगठन र संर्घषको दिशामा अघि बढौ’ भन्ने नाराका साथ भेलाको आयोजना गरिने उक्त संगठनले जनाएको छ ।
यसैगरी, राष्ट्रियता, जनतन्त्र, जनजीविका र शैक्षिक विषयमा संर्घष गर्ने, जेल जीवन बिताइरहेका विकास राईलगायतको रिहा, जनक शिक्षा सामाग्री केन्द्रको बेथिति र भ्रष्टाचारको नियमन गरी समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका माग पनि संगठनले अघि सारेको छ ।
क्रान्तिकारीले महंगी नियन्त्रण, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न, पेट्रोलियम पदार्थमा लगाइएको अत्यधिक कर घटाउनुको साथै आयल निगममा विभिन्न बहानामा भइरहेको अनियमितता, भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न मागसमेत गरेको छ ।
यसैगरी, आफ्नै विद्यार्थीमाथि यौनजन्य हिंसा गर्ने शिक्षकलाई कडाभन्दा कडा कारवाही गर्न र मौका परीक्षाका लागि लामो समयदेखि आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीको माग तत्काल सम्बोधन गर्न माग पर्ने क्रान्तिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
