Loading

भजनी, १५ जेठ/जनता सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र भजनीको अध्यक्षमा हेमेन्द्र भारद्वज चयन भएका छन् । गणतन्त्र दिवसको अवसर पारेर आइतबार भजनीमा भएको उक्त पुस्तकालयको सातौं वार्षिक साधारण सभाले भारद्वजलाई अध्यक्षमा निर्विरोध चयन गर्दै ११ सदस्यीय कार्यसमिति बनाएको हो ।

अन्य १० जना सदस्यहरु पनि निर्विरोध चयन गरेको छ । सदस्यहरुमा ज्ञानराज बिनाडी, भुवन बोहरा, प्रेमराज पाण्डेय, कर्णबहादुर शाह, गगन बहादुर बि.क., दीपकराज जैसी, ललिता मल्ल, अनिता साउँद, शान्ति नापित र कविराज जैसी रहेका छन् ।


विधान अनुसार नयाँ कार्यसमितिको पहिलो बैठकले २ सदस्य मनोनित गर्नुका साथै नवनिर्वाचित सदस्यहरुमध्येबाट उपाध्यक्ष, सचिव, सहसचिव, कोपाध्यक्ष सहितका पदाधिकारी चयन गर्ने बताइएको छ ।

यसअघि पुस्तकालयका अध्यक्ष नवराज मिश्रको अध्यक्षतामा भएको बन्द सत्रमा संस्थाका सचिव अर्जुन चौधरीले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष हेमेन्द्र भारद्वाजले आर्थिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि साधारण सभाका सदस्यहरु दुर्गाप्रसाद भण्डारी, हेमन्तराज माण्डव्य, डिल्लीप्रसाद देवकोटा, डम्मरबहादुर खड्का, कृष्णबहादुर साउँद, राजबहादुर बुढा, गोविन्द जोशी, कवि परियारले टिप्पणी गर्दै संशोधन गर्न माग गरेका थिए ।

बन्द सत्रले राजकिशोर लाल कर्ण संयोजक, डम्मरबहादुर खड्का र विष्णुप्रसाद न्यौपाने सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति चयन गरेको थियो । निर्वाचन समितिमा अध्यक्षका लागि हेमेन्द्र भारद्वाज, ज्ञानराज बिनाडी, धौली जैसी, राधा जैसी, गोविन्द जोशी लगायत ६ जनाको उम्मेद्वारी परेको थियो । उम्मेद्वारहरुलाई आपसी सहमतिका लागि दिइएको समयमा सहमति भएपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

यस्तै अध्यक्ष मिश्रकै अध्यक्षतामा भएको उद्घाटन सत्र भएको थियो । उद्घाटनसत्रको भजनी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख केवल चौधरीले उद्घाटन गरेका थिए । सो सत्रमा प्रमुख अतिथि चौधरी, निवर्तमान नगर उपप्रमुख छाया देवकोटाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । पुस्तकालयका उपाध्यक्ष टंक प्रसाद जोशीले स्वागत मन्तव्य गरेको उक्त सत्रको सञ्चालन सचिव अर्जुन चौधरीले गरेका थिए ।

साधारण सभामा विगत तीन वर्षएको कुनै प्रगति विवरण पेश नगरिएपनि २०७७÷०७८ को ५ लाख ९१ हजार ४ सय १५ रुपैयाँको आयब्यय विवरण पेश गरिएको थियो । यस्तै चालु आर्थिक वर्ष २०७८ को श्रावण १ गतेदेखि २०७९ वैसाख मसान्तसम्मको २० लाख ९७ हजार ६ सय ९५ रुपैयाँको आय तथा ब्यय विवरण समेत पेश गरिएको थियो ।

२०७५ वैसाख ७ गते चारवर्ष पुगी पाँच वर्षमा शुरु भएपछि कार्यसमितिको आलोचना हुन थालेको थियो । तर संस्थका अध्यक्ष कोरोना कहरका कारण वीचमा साधारण सभा गर्न नसकेको बताए । तीन वर्षको कार्यकाल रहेपनि निवर्तमान कार्यसमितिले विगत चारवर्षदेखि साधारण सभा समेत गर्न सकेको थिएन ।