![]()
टीकापुर/ स्थानीय तहको आसन्न निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी हालसम्म ३८५ जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांक अनुसार पालिका तहको चुनावमा दुई सय ६६ पुरुष र एक सय १९ महिला निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन्भने अन्य वडा अध्यक्ष र सदस्यहरु रहो छन् । काठमाण्डौ महानगरपालिका, धरान, धनगढी र जनकपुर उपमहानगरपालिकाको प्रमुख पदमा पनि स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
काठमाण्डौ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित भएका छन्भने धनगढी उपमहानगरमा गोपाल हमालले २६ हजार ८६५ मतसहित प्रमुखमा विजयी भएका छन् । काठमाण्डौमा र धनगढीमा पहिलो पटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् । यस्तै जनकपुर उपमहानगरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले १३ हजार ४६५, धरान उपमहानगरमा हर्कराज राईले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन् ।
यसैगरी उपप्रमुख र उपाध्यक्ष दुई दुईजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार वडाध्यक्षमा १३३ पुरुष र तीन महिला गरी १३६ जना स्वतन्त्र उम्म्द्वारहरु निर्वाचित भएका छन् । यस्तै, महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५, पुरुष सदस्य ११७ निर्वाचित भएका हुन्।
राष्टिय मान्यता प्राप्त सहित अन्य २४ वटा राजनीतिक दलका उम्मेद्वारहरु सहभागी हुँदा पनि स्वतन्त्र उम्मेदवारहरु विजयी हुनुले अर्थपूर्ण मानिएको छ । एकातिर नेतृत्वले गलत ब्यक्तिलाई टिकट दिएका कारण पनि बागी उम्मेद्वारी दिएर पनि स्वतन्त्र विजयी भएका छन् भने अर्कातिर दलका प्रतिनिधिहरु हुँदाहुँदै पनि केही राम्रा ब्यक्तिहरुले स्वतन्त्र उम्मेदारी दिएर पनि निर्वाचित भएका छन् ।
काठमाण्डौका बालेन्द्र शाह कलाक्षेत्रबाट आएका एक इन्जीयर हुन् तर धनगढीका मेयर गोपाल हमाल उद्योगी व्यवसायी हुन् उनी यस क्षेत्रको विकासमा लामो समयदेखि जोडिएका ब्यक्ति हुन् । यसअघि २०७४ को स्थानीय निर्वाचनमा निवर्तमान मेयर नृप ओडसाँग थोरै मतले पराजित भएका हमाल विवेकशील साझाबाट राजिनामा दिँदै स्वतन्त्र उम्मेद्वार बनेका थिए । उनी विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक समेत थिए ।
यस्तै धरानका हर्कराज राई सामाजिक अभियन्ता हुन् । उनी अघिल्लो निर्वाचनमा पनि स्वतन्त्रबाटै मेयर लडेका थिए तर पराजित भए । सादा जीवन उच्च विचारका धनी राईलाई यसपटक धरानवासी मतदाताले विजयी बनाए । राई यस वीचको अवधिमा सामाजिक क्षेत्रमा निकै सक्रिय रहेका थिए । उनी जनताका हरेक समस्यासँग जोडिएर काम गर्न लागेका थिए । धरानमा खानेपानीको उचित ब्यवस्थापन गर्ने एकल नारा लिएर निर्वाचनमा होमिएका उनलाई खानेपानीबाट आक्रान्त बनेका धरानेली जनताले पत्याए ।
यस्तै मधेश प्रदेशको राजधानी रहेको जनकपुरका स्वतन्त्र मेयर मनोजकुमार साह सुडी पनि जनता समाजवादी पार्टी निकटका नै हुन् उनले पार्टीले पुरानै मेयरलाई नै उम्मेद्वार बनाएपछि पार्टीमा बिद्रोह गर्दै स्वतन्त्र उम्मेद्वार बनाएका थिए । तर, जनकपुरवासी मतदाताले उनलाई पत्याएपछि उनी मेयर बन्न सफल भए । यस्तै तमाम उम्मेद्वारहरु कुनै न कुनै कारणले निर्वाचनमा होमिएका हुन् । धेरैजसो आप्नो पार्टीबाट बिद्रोह गर्दै उम्मेद्वार बनेका हुन् भने थोरै मात्र विशुद्ध स्वतन्त्र ब्यक्ति रहेका छन् ।
