Loading

सुर्खेत । एमसीसी सदनबाट पारित भएको विरोधले उग्र रुप लिएपछि सोमबार साँझ वीरेन्द्रनगरमा लगाइएको कर्फ्यू आज साँझबाट हटेको छ ।

सोमबार साँझ ८:१५ बजेदेखि आज (मंगलवार) साँझ ७ बजेसम्म जारी कर्फ्यु हटेपनि निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ । यसरी निषेधित क्षेत्र कायम भएका स्थानहरुमा वीरेन्द्रनगरका मुख्य तीन स्थान रहेका छन् ।

सोमबार बन्दकर्ताले राजनीतिक दलका कार्यालयमा तोडफोड र आगजनी गरेपछि प्रशासनले कर्फ्यू लगाएको हो । सबैभन्दा बढी उग्ररुप देखाएका मगलगढी र यरीचोक सँगै विभिन्न राजनीति दलका पार्टी कार्यालय रहेको हटियालाइनमा निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ ।

निषेधाज्ञा तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा नहुन प्रशासनले आदेश गरेको छ । निषेधाज्ञा आज साँझ ७ बजेबाट अर्को आदेश नहुञ्जेलसम्मका लागि जारी रहने जनाइएको छ ।