Loading

काठमाडौं, १६ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई बनेको नेकपा बिघटनको बेला चर्चित पात्र रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल पार्टीको साधारण सदस्यबाट निष्कासित भएका छन्।
नेकपाले कट्टेललाई माघ १३ गते नै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो। पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको आरोप लागेपछि माघ ५ गते छानविन समिति गठन गरिएको तर छानविन समितिले माघ ७ गते मागेको स्पष्टीकरणको जवाफ नदिएको हुनाले उनलाई निष्कासन गरिएको उल्लेख छ।
पार्टीले लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्ष तोकेको छ। उनी एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजकसमेत हुन्।
कट्टेल तिनै हुन् जसले एक वर्षअघि फागुन २३ गते सर्वोच्च अदालतको उत्प्रेषण आदेशमार्फत केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा एकता बदर गरी नेपाल कम्युनिस्ट पार्टीको नाम फिर्ता ल्याएका थिए।