Loading

काठमाडौं । गायिका जुनु गौतम र गायक सरोज दाहालको स्वर रहेको ‘तिमी फर्की’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

नवीन श्रेष्ठको शब्द र संगीत रहेको यस गीतको संगीत संयोजन तथा मिक्सिङ भने प्रमोद परियारले गरेका हुन् । सुरेन्द्र श्रेष्ठको छायांकन रहेको यस गीतको भिडियोको निर्देशन गायिका जुनु गौतमले नै गरेकी हुन् ।

उनले भनिन्, ‘हिजोआज संगीतको बजार धेरै भिन्नै छ । अहिले एउटा म्युजिक भिडियो बनाउन ३–४ लाख तल कुरै हुन्न । यस्तो अवस्थामा मैले आफूले गाएका गीतलाई संगालेर राख्ने उद्देश्यले साधारण भिडियो बनाएको हुँ । मेरो आगामी दिनमा यसरी धेरै गीत निकाल्ने जमर्को रहनेछ । बजारमा चल्ने भन्दा पनि मन छुने गीतलाई गाउने मेरो इच्छा हो ।’ उनले गीतले दर्शक स्रोताको मनोभावलाई चित्रण गर्न सक्नुपर्ने विचार व्यक्त गरिन् ।

गायिका गौतमले थपिन्, ‘नवीनदाइ एउटा सम्पन्न गीतकार र संगीतकार हुनुहुन्छ । तर हिजोआज गीतको कुरा गर्दा चलेको र नचलेको कुरा आउँछ र आज मेरो उद्देश्य भनेको नचलेका तर राम्रा गला भएका संगीतकर्मीको समूह बनाउनु पनि हो । सरोज दाहाल भाइ पनि एउटा दमदार आवाजको धनी हुन् ।’ उनी चलचित्र ‘जीवन काँडा कि फूल’ कि सहनिर्मात्री समेत हुन् । चलचित्र सन् २०१९ मा प्रदर्शनमा आएको थियो ।