![]()
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै बलमा संविधानसभाबाट संविधान बनेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै देउवाले ‘प्रचण्ड’ को राजनीतिक योगदानको चर्चा गरे । उनले भने, ‘पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठुलो योगदान दिनुभएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौं । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा काँग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो ।’
उनले पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको पनि प्रस्ट पारे । अहिलेको संविधान अन्तर्गत संसद पूरा समय चलोस् भन्ने पुनीत उद्देश्यले गठबन्धन निर्माण भएको उनको भनाइ थियो । उनले गठबन्धन पूरा समय चल्ने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई यो गठबन्धन आफूविरुद्ध बनाइएको हो कि भन्ने शंका नगर्न पनि आग्रह गरे ।
‘एमसिसी राष्ट्रघाती छैन’
प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशघाती नभएको दाबी गरेका छन् । केही नेताले एमसीसी राष्ट्रघाती सम्झौता भनेकोमा आपत्ति जनाउँदै पहिला पढेर मात्रै टिप्पणी गर्न देउवाले सुझाए ।
यसै प्रसंगमा ‘राष्ट्रघाती भन्नेले एमसीसी पढेको छ कि छैन मलाई थाहा छैन । पहिले पढ्नुपर्यो नि । मैले पढेको छु, मैले त काहीँ राष्ट्रघात देखेको छैन । म पनि देशको प्रधानमन्त्री हो, नेपालको खिलाफमा जाउँला त रु किन राष्ट्रघाती काम गरौँला त मैले रु यो विषयमा हामीले छलफल गरिरहेका छौँ । यो नेपालको हितमा छ, यो सित्तैमा आएको पैसा हो, नेपालको कानुनअनुसार आएको हो, राम्रोसँग बुझेर मात्रै बोल्नुपर्छ । यसमा धेरै छलफल गरेर पारित हुनेछ’, देउवाले बताए ।
प्रधानमन्त्री देउवाले आफू पनि प्रजातन्त्रका लागि लडेको व्यक्ति भएकाले राष्ट्रियताविरुद्ध नजाने बताए । एमसिसिकै विषयमा बोल्दै ‘मैले एउटा कुरा बोल्नै पर्ने भयो, म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हो । राष्ट्रघाती सन्धि किन गरुँला रु एमसीसी नेपालको हितमा छ ।’ देउवाले बताए ।
देउवाले कानुनी रूपमा एमसिसी सहयोग एडिबी, विश्व बैंकबाट लिने ऋणजस्तै भएको बताए। ‘अझ यो त ऋण होइन अनुदान हो,’ देउवाले भने।
जनतालाई दास बनाउने कुरा स्वीकार्य छैन : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई दास बनाउने कुरा आफूहरुलाई स्वीकार्य नभएको बताएका छन् ।

आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा माओवादी केन्द्र को आठौं महाधिवेशन उद्घाटन समारोहको सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
‘जुनसुकै पार्टीमा भए पनि राष्ट्रियताको झन्डा उठाउनुपर्छ । देशको स्वाभिमानमाथि उठाउने सन्दर्भमा हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । राष्ट्रियताको सवालमा बिमति हुनुपर्ने कारण छैन’, अध्यक्ष नेपालले भने ‘राष्ट्रियताको नाममा जनतालाई दास बनाउने कुरा हामीलाई स्वीकार्य हुँदैन । कुनै व्यक्ति र वंशको नाताशाही हामीलाई स्वीकार्य हुँदैन ।’
अध्यक्ष नेपालले सम्मान र मर्यादाको रक्षा गरेर अगाडि बढ्दा मात्र देशको प्रगति हुने उल्लेख गर्नुभएको छ । अब पार्टीको ध्यान असमानताको अन्त्य गर्ने कुरामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । ‘सबैको सम्मान र मर्यादाको रक्षा गरेर अगाडि बढ्दा मात्र देशले प्रगति गर्नसक्छ’, उनले भने ‘नेपाली समाजमा अन्याय विद्यमान छ । हाम्रो ध्यान असमानतालाई अन्त्य गर्ने कुरामा केन्द्रित हुनुपर्छ ।’
माओवादीले राष्ट्रिय सम्मेलन नगरेर महाधिवेशन गरोस् भन्ने चाहना रहेको र त्यसै भएको भन्दै अध्यक्ष नेपालले मन मिलेको उल्लेख गरे। ‘मन र भावना मिलेपछि बाँकी अरु कुरा मिल्दै जान्छ’, अध्यक्ष नेपालले भने, ‘अहिले हामी नयाँ नेपाल निर्माण गर्ने अभियानमा छौँ । त्यसलाई सफल पार्न सबै मिल्नुपर्छ ।’ अध्यक्ष नेपालले अहिले पनि एकतावद्ध भएर जानुपर्ने अवस्था आएको उल्लेख गरे । ‘विभिन्न दलका विभिन्न मान्यता छन् । मुल कुरामा हाम्रो सहमति भए अन्य कुरालाई थाति राख्न सकिन्छ’, अध्यक्ष नेपालले भने।
राजनीतिक दलले जनताको विश्वास जिते मात्र अगाडि बढ्ने भन्दै उनले काम र व्यवहारमा हामी कहाँ चुकेका छौँ भन्नेकुरा ख्याल गर्नुपर्नेमा जोड दिए । ‘राजनीतिक पार्टी जनताको विश्वास जित्यो भने मात्र अगाडि बढ्न सक्छ । जनताको विश्वास जित्न कुरा मात्र प्रधान हुँदैन’, उनले थपे ‘काम र व्यवहारमा हामी कहाँ चुकेका छौँ त्यसलाई हेर्नुपर्छ ।’ उनले आफ्नो काम र व्यवहारमा भएको गल्ती नसच्याए जनताले फेरि नपत्याउने कुरा सबैले स्वीकार गर्नुपर्ने उल्लेख गरे ।
अहिले पनि देशमा वामपन्थी एकताको खाँचो छ : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता गलत नरहेको बताएका छन् ।

माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै महासचिव पोखरेलले देशमा बलियो वामपन्थी दल बनाउनका लागि दुई पार्टी मिलेर नेकपा बनाएको तर विविध कारणले एकता भङ्ग हुनु दुःखद भएको बताए । अहिले पनि देशमा वामपन्थी एकताको खाँचो रहेको पोखरेलको भनाइ छ ।
उनले पछिल्ला तीन–तीन वटा राजनीतिक क्रान्ति गर्दा देशमा समृद्धि किन आएन भनेर समीक्षा गर्नुपर्ने बेला आएको पनि बताए । पार्टीहरू अहिलेसम्म नागरिक अधिकारका प्रश्नमा केन्द्रित रहेको तर देश बनाउने र नागरिकको जीवनस्तर उकास्नेतर्फ ध्यान नदिइएको भन्दै महासचिव पोखरेलले दलहरूका महाधिवेशनमा नागरिकका मुद्दामा छलफल हुनुपर्ने बताए ।
अहिले देश हिँड्नुपर्ने बाटो एउटा भए पनि राजनीति अर्कै बाटोमा हिँडेको भन्दै महासचिव शंकर पोखरेलले सबै दल र नेताले एक पटक गम्भीर भएर सोच्नुपर्ने बताए ।
माओवादी र मधेश विद्रोह नभएको भए देशमा लोकतन्त्र आउने थिएन : उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले माओवादीको जनयुद्ध र मधेश आन्दोलन नभएको भए अझै पनि निरङ्कुशता जारी नै रहने बताएका छन्।

माओवादी केन्द्रको महाधिवेशनमा आज आइतवार शुभकामना दिने क्रममा अध्यक्ष यादवले भने, ‘माओवादी र मधेश विद्रोह नभएको भए देशमा लोकतन्त्र आउने थिएन, निरङ्कुशता हुने थियो । माओवादी र मधेश विद्रोहले देशलाई अघि बढाएको हो ।’
प्राप्त उपलब्धिलाई पनि केही प्रतिगामी तत्त्वहरुले खतरामा पारिरहेको भन्दै गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने जसपाका अध्यक्ष यादवको भनाइ छ । संविधानले मधेशका नागरिकको हक अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै यादवले संविधान संशोधन गरेर सबैका अधिकारलाई संविधानमा समेट्नुपर्ने बताए ।
अध्यक्ष यादवले अझै पनि देशमा मधेशका मुद्दा सम्बोधन हुन नसकेको, उत्पीडित र शोषित वर्गको अधिकार र पहिचानलाई राज्यले महत्त्व नदिएको लगायतका गुनासो गरे ।
पूर्वमाओवादी एकजुट हुन जनयुद्धअघिको केन्द्रीय कमिटी बैठकका प्रतिबद्धता पूरा गर्नुपर्छ : सीपी गजुरेल
नेकपा माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिन पुगेका नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले शुभकामना मन्तव्य राख्दा हलमा हुटिङ र ताली बजेको छ ।

आज आइतवार शुभकामना दिने क्रममा गजुरेलले आफूलाई पुराना दिनको सम्झना आएको र माओवादी तथा अध्यक्ष प्रचण्डसँगका विगतमा सँगै रहेको याद आएको बाएका थिए । उनले त्यसो भन्दा हलमा सहभागी माओवादीका कार्यकर्ताले ताली बजाउँदै हुटिङ गरेका थिए ।
‘आज मलाई कुनै समयमा हामी नेकपा माओवादी हुँदा वर्षौँसम्म सँगै बसेको अनुभूति भएको छ । यहाँ सहभागी हुँदा पुराना दिन सम्झाना भयो’, गजुरेलले भने । प्रचण्डले बेला–बेला सबै पूर्वमाओवादी एक हुनुपर्छ भनेको सुन्दा खुसी लाग्ने गरेको बताउँदै गजुरेलले त्यसका लागि केही आधार हुनुपर्ने बताएका छन्।
‘हामी चाहन्छौँ नेपालमा भएका सबै कम्युनिस्ट एक ठाउँमा हुनुपर्छ, हामीले लिएको लक्ष्य पूरा गर्न हामी सबै क्रान्तिकारी एक ठाउँमा हुनुपर्छ, तर त्यसका लागि केही आधार हुनुपर्छ’, उनले भने ।
‘यदि पूर्वमाओवादी एकजुट हुने हो भने यो महाधिवेशनले जनयुद्ध सुरु गर्नुअघिको केन्द्रीय कमिटीको बैठकमा जाहेर गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ । जनयुद्धको लक्ष्य अपूरो छ, नेपाललाई जनगणतन्त्रिक देश बनाउनुपर्छ । राष्ट्रिय स्वाधीनताको विषयमा महत्त्वपूर्ण निर्णय लिनुहोस् । एमसीसी खारेज गर्नुहोस् । नेपालले गुमाएका भू–भाग नक्सामा मात्रै नभइ व्यवहारमै नेपालले पाओस्, त्यसपछि एकताको कुरा गरौँ’, गजुरेलले थपे ।
संघीयता र समावेसीकरणको नेतृत्व माओवादीले गर्नुपर्छ : झा
लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संघीयता र समावेसीकरणको नेतृत्व माओवादीले गर्नुपर्ने बताएका छन् ।

आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा माओवादी केन्द्र को आठौं महाधिवेशन उद्घाटन समारोहको सफलताको शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
‘संघीयता र गणतन्त्र स्थापना भएको छ । त्यसलाई कसैले हल्लाउन सक्दैन’, नेता झाले भन्नुभयो, ‘तर, संघीयता र समावेसीकरणको एजेन्डालाई उचित तरिकाले सम्बोधन गराउनमा माओवादीको नेतृत्व र बाँकी नेताको सहयोगमा सफल हुने अपेक्षा हाम्रो पार्टीले राखेको छ ।’
संघीयता आए पनि केही नआएको टिप्पणी नेता झाले गरे । ‘संघीयता आयो सबै चिज आयो । तर, केही पनि आएको छैन’, उनले भने, ‘हामीले मधेस आन्दोलन गर्यौँ । तर, त्यो आन्दोलनका मागको सम्बोधन आजसम्म हुन सकेको छैन ।’
माओवादी जनयुद्धमा जानुभन्दा अगाडि नै मधेसका शोषित जनताको पक्षमा आन्दोलन उठाएको उनले सम्झना गरेका छन्। जनआन्दोलन सुरु भएपछि माओवादी केन्द्रका नेता प्रचण्डको विषयमा गरेको टिप्पणीको सम्झना गरे । उनले गजेन्द्र नारायण सिंहले माओवादीलाई कहिल्यै आतंककारी नभनेको समेत सम्झना गरेका छन् ।
‘गजेन्द्र नारायण सिंहले कहिल्यै पनि माओवादीलाई आतंककारी पार्टी भन्नुपर्छ भन्ने दस्तावेजमा हस्ताक्षर गर्नु भएन’, झाले भने ‘उहाँले भन्नुहुन्थ्यो हामी शान्तिवादी छौँ । उहाँहरु क्रान्तिकारी हुनुहुन्छ ।’
माओवादीको लक्ष्य अहिले अन्तै मोडिएको छ : सीपी मैनाली
नेकपा मालेका महासचिव सीपी मैनालीले माओवादीले नयाँ विचार लिएर नवजीवन पाओस् भनेर शुभकामना दिएका छन्।

माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै उनले विगतका कैयौँ आन्दोलनको उपलब्धि रक्षा गर्न र नागरिकका आधारभूत आवश्यकता पूरा गर्न माओवादी केन्दित हुनपर्ने बताए । विश्व चर्चित आन्दोलनबाट आएको माओवादीले नागरिकका कैयौँ प्रश्नको सम्बोधन गर्नुपर्ने मैनालीको भनाइ छ ।
माओवादीले एउटा लक्ष्यको लागि आन्दोलन गरे पनि अर्कै बाटो समातेकाले आम नागरिकमा नमेटिने गरी जिज्ञासा उठेको मैनालीले बताए । ‘माओवादीले लिएको लक्ष्यलाई केले अपहरण गर्यो, या त्यो लक्ष्य नै गलत थियो, अब माओवादीले जवाफ दिनुपर्ला’, मैनालीले भने ।
