Loading

काठमाडौं / लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी भित्र एकलौटी गरेको भन्दै महोत्तरी र धनुषाका नेता तथा कार्यकर्ताले पार्टीको केन्द्रिय कार्यालय बबरमहलमा तालाबन्दीको तयारी गरेका छन् ।

पार्टीको निर्णय र प्रक्रिया एकात्मक भएको भन्दै असन्तुष्ट नेता तथा कार्यकर्ताहरु आइतबार धर्नामा बसेकाे पार्टीका नेता संजयकुमार चौधरीले जानकारी गराएका छन् । यस्तो कदमलाई तत्काल नसच्याए कार्यालयमा तालाबन्दी गर्नुका साथै थप आन्दोलनका कार्यक्रमहरु गर्ने नेता चौधरीले बताए ।

नेता चौधरीले भने, ‘न पार्टीको बैठक भयो न त कुनै निर्णय नै तर पार्टी अध्यक्षले एकलौटी रुपमा जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष र प्रदेश सचिव मनोनयन गरेका छन् । जुन सरासर अबैधानिक रहेको छ । त्यसलाई तत्काल सच्याउनका लागि हामि आन्दोलनमा होमिएका छौं ।’

पार्टीमा सामुहिक नेतृत्व गर्नुपर्ने प्रावधान हुँदा–हुँदै अध्यक्षले नेतृत्व चयन गरिरहँदा एकलौटी गरेको नेता चौधरीको आरोप छ । विधान सम्म्त पार्टीको कार्यकारिणी समिति ३१ सदस्यी रहेको बताउदै उनले भने, ‘समितीको बैठक समेत बसेन ।

तसर्थ हामि यस प्रकारको एकात्मक शासन प्रणालिको घोर भर्त्सना गर्दछौं । विधि, प्रक्रिया र सामुहिक निर्णयबाट पार्टी चल्नुपर्छ भन्ने हाम्रो माग हो । पार्टीको नाम लोकतान्त्रिक राखेर हुन्न, पार्टीका कामकारबाही पनि लोकतान्त्रिक हुनुपर्छ ।’

सम्पुर्ण वर्ग र समुदायलाई समावेशी हुनेगरीको सामुहिक प्रतिनिधित्व चयन हुनुपर्ने नेता चौधरीकाे माग छ । उनले भने, ‘कुनै पक्षको आन्दोलन होइन, पार्टीमा देखिएको विकृति विरुद्धको आन्दोलन हो, र पार्टि कार्यालयमा पुर्व जानकारी गराएर हामिहरु धर्नामा बसेका छौं ।’ पार्टी अध्यक्षले एकलौटी मनोनयन गर्दै पार्टी भित्र अराजकता फैलाएको नेता चौधरीले बताए ।

अध्यक्ष ठाकुरले मंसिर २५ गते प्रदेश २ को लोसपा अध्यक्षमा जितेन्द्र सोनललाई मनोनयन गरेपछि जनकपुरमा लोसपाका ३० जना नेता तथा कार्यकर्ताले तत्कालै विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए ।