Loading

दुर्गाप्रसाद भण्डारी

काठमाण्डौ, ७ पुस/नेकपा माओवादी केन्द्र प्रचार तथा पकाशन विभाग प्रमुख कृष्णबहादुर महराले नेकपा माओवादी केन्द्रले महाधिवेशन नभई राष्ट्रिय सम्मेलन गर्न लागेको बताए ।
उनले सो कुरा आज पार्टी कार्यालय पेरिस डाँडामा पार्टीको प्रथम राष्ट्रिय सम्मेलन प्रचार प्रसार समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बताएका हुन् । अधिवेशन र सम्मेलनमा फरक छ, अधिवेशन नेतृत्व कसरी चयन गर्ने विषयमा केन्द्रित हुन्छ भने सम्मेलन पार्टीको कार्यदिशा र आगामी योजनाको विषयमा केन्द्रित हुन्छ, महाराले सञ्चारकर्मीहरुको जिज्ञासालाई सम्बोधन गर्दै बताए ।
उनले भने, पार्टीले माओ जयन्तीको दिनमा हरेक वर्ष कुनै न कुनै कार्यक्रम गर्दै आएकोले यस वर्ष पार्टीको राष्ट्रिय सम्मेलनको आयोजन गरेको छ । यस सम्मेलनले पार्टीले आगामी दिनमा के कस्तो विचार बोक्ने र पार्टीलाई कसरी क्रान्तिकारी बनाउने भन्ने विषयमा छलफल गर्नेछ । नयाँ क्रान्तिका।ी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माणमा केन्द्रित सम्मेलनले नेतृत्व चयन गरेपनि यसलाई पहिलो प्राथमिकतामा राखेको छैन ।
२०६४ सालमा पहिलो पार्टी भएको नेकपा माओवादी २०७० सालमा आइपुग्दा कसरी तेस्रो हुन पुग्यो हामीले क्रान्तिकारी बाटोमा हिँड्ने बेला केही कमजोरी हुन गयो कि भनेर गंभिर छलफल र बहश गर्नेछ । आगामी दिनमा फेरी पहिलो पार्टी बनाउन कस्तो क्रान्तिकारी विचार र नयाँ ढंगले कसरी क्रान्तिकारी पार्टी निर्माण गर्ने भन्ने विषयमा राष्ट्रिय सम्मेलनले तय गर्नेछ, महराले भने ।
नयाँ क्रान्तिकारी पार्टी कसरी निर्माण हुन्छ त भन्ने पत्रकारहरुको सवालमा महराले भने, नेकपा माओवादी अरु पार्टीजस्तो होइन यस्को सांगठनिक सिद्धान्त जनवादी केन्द्रीयतामा आधारित हुन्छ । क्रान्तिको बाँकी कार्यभार सम्पन्न गर्न क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी बनाउनमा केन्द्रित हुन्छ । पार्टी अध्यक्षले त्यस विषयमा छलफलका लागि नयाँ दस्तावेज लेखिरहनु भएको छ ।
माओवादी केन्द्र संसदमा भासिएको भन्ने वैद्य बिप्लप समूहले आरोप लगाइरहेका छन् नि त भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्र संसदीय ब्यवस्थामा भासिएको छैन संसदीय व्यवस्थामा पनि अलि फरक ढंगले जानुपर्छ भन्ने बहश चलेको छ । यस विषयमा पनि सम्मेलनले निर्णय गर्नेछ नेता महराले भने ।
उहाँहरुलाई धेरै जवाफ दिन आवश्यक छैन तर हामी हिँडिरहेको बाटो के कति ठीक छ वा छैन भन्ने विषयमा सम्मेलनमा समिक्षा हुनेछ । वैद्य र बिप्लवको विषयमा पनि सम्मेलनले के निष्कर्ष निकाल्छ त्यसैमा भर पर्ने महराले बताए । तर विभाजित भएका माओवादी शक्तिहरु एक ठाउँमा भएर क्रान्तिका बाँकी कार्यभारहरु पुरा गरौ भन्ने हामी चाहन्छौ । त्यसका लागि हाम्रो कहाँनिर कमजोरी भयो उहाँहरुको कहाँनेर कमजोरी भयो यही कुरा राष्ट्रिय सम्मेलनले तय गर्नेछ, महराले भने ।

अर्को एक प्रश्नको उत्तरमा जनयुद्ध नै गर्नुपर्छ भन्ने छैन भन्दै उनले भने, क्रान्ति सम्पन्न गर्नुपर्छ भन्ने हो, त्यसका लागि हिंसा नै गर्नुपर्छ भन्ने होइन । महाधिवेशन ठूलो स्केलको हुने नेतृत्व चयनको विषय मुख्य हुने भएकाले राष्ट्रिय सम्मेलनमा बाहरिबाट कुनै अतिथिहरु नबोलाईने उनले बताए ।
प्रचार विभाग प्रमुख महराले यही पुस ११ देखि १३ गतेसम्म काठमाण्डौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने प्रथम राष्ट्रिय सम्मेलनमा १५३३ जना प्रतिनिधिहरु सहभाग् िहुने बताए । जस अनुसार आयोजक १७९ जना, सल्लहकारहरु १४९ जना, जेष्ठ कम्युनिष्ठ १२५ जना, आयोगका ७५ जना, केन्द्रीय विभागहरुबाट १०२ जना, केन्द्रीय प्रतिनिधिहरु २७ जना, प्रदेशबाट आउने प्रतिनिधिहरु ८०३ जना र ५ प्रतिशत मनोनित ७३ जना गरी १ हजार ५ सय ३३ जना राष्ट्रिय सम्मेलन प्रतिनिधिहरु सहभागी हुनेछन् । यसमा केही कमबढी हुन सक्ने पनि नेता महराले बताए ।
कार्यक्रमको सञ्चालन र सहजीकरण प्रचार विभाग सचिव गोविन्द आचार्यले गरेका थिए । कार्यक्रममा प्रचार विभागका सदस्यहरु खिलाबहादुर भण्डारी, कमल गिरी, गोविन्द रोका, विष्णु सापकोटा, दुर्गाप्रसाद भण्डारी लगायतको सहभागिता रहेको थियो ।

सात भौगोलिक र ३ गैरभौगोलिक प्रदेशबाट सहभागी प्रतिनिधिहरुको संख्या
सुदूरपश्चिम प्रदेश ८४ जना
कर्णाली प्रदेश ८७ जना
लुम्बिनी प्रदेश १०५ जना
गण्डकी प्रदेश ७४ जना
बाग्मती प्रदेश १२८ जना
२ न. प्रदेश १०६ जना
१ न. प्रदेश ९६ जना
प्रवास प्रदेश ३४ जना
विशेष प्रदेश ४२
सम्पर्क समन्वय प्रदेश ४३ जना