Loading

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनको बन्द सत्रबाट सर्वसम्मत रुपमा नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष केपी ओलीलाई दिइएको छ ।

कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विष्णु पौडेलको प्रस्तावलाई ताली बजाएर अनुमोदन गरिएको थियो । यद्यपि उपाध्यक्ष भीम रावलले भने यसमा असन्तुष्टि जनाएका छन् ।

ओलीले दशौं महाधिवेशनबाट सहमतिमा नेतृत्व चयनको पहल गरिएको बताउँदै सहमति नभएका ठाउँमा निर्वाचन हुने बताएका छन् ।

चितवनको सौराहामा जारी एमाले महाधिवेशनको बन्दसत्र हलले सहमतिमा नेतृत्व चयनका लागि भन्दै उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने निर्णय गरेको थियो ।

त्यसलगत्तै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलले आफू उम्मेदवारीमा अडिग रहेको र हलको निर्णय मान्य नहुने बताएका थिए । त्यसपछि ओलीले उठेका प्रश्नको जवाफ दिँदै सहमति हुने ठाउँमा सहमतिबाट टुंगो लगाउने र सहमति हुन नसकेको ठाउँमा निर्वाचन हुने बताए ।

बन्दसत्र निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् ।

बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सकेको छ ।