![]()
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता यथास्थितिमा संसदबाट पास नगर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरुले अर्थ मन्त्रालय तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्रमाथि प्रश्न उठाएका थिए ।
एमसीसीबारे उठेका प्रश्नहरुलाई समेटेर अर्थ मन्त्रालयले भदौमा मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र पठाएको थियो । त्यसको जवाफ आएपछि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्को पत्र पठाएका थिए ।
केही दिन अघि मात्र प्रधानमन्त्री देउवाले एमसीसी पास गर्छौ भनेर आफू र प्रचण्डले पत्र पठाएको बताएपछि यस विषयलाई लिएर माओवादी केन्द्रका नेताहरुले मंगलबारको बैठकमा प्रश्न उठाएका हुन् । नेताहरु नारायणकाजी श्रेष्ठ प्रकाश, देव गुरुङ, लीलामणि पोखरेल लगायतले पत्र पठाउनु गम्भीर त्रुटि भएको बताएका थिए ।
बैठकमा अध्यक्ष प्रचण्डले स्पष्टीकरण दिँदै बाहिर चर्चा भए जस्तो एमसीसी पास गर्छौं भनेर पत्र नलेखेको बताए । प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक प्रयास भइरहेकाले पनि सम्झौतामा संशोधन भए सहयोग लिन्छौं भनेर पत्र लेख्नु परेको बताएका हुन् ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले नै राष्ट्रिय संवेदशनीलतासँग जोडिएकाले एमसीसी सम्झौता यथास्थितिमा संसदबाट पास नगर्ने निर्णय गर्ने प्रस्ताव राखेका थिए, जसलाई स्थायी समितिले अनुमोदन गरिसकेको छ ।
बैठकपछि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि राष्ट्रिय सहमति र सम्झौतामा संशोधन तथा परिमार्जन नभई एमसीसी अगाडि नबढ्ने बताएका छन् ।
