Loading

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनोटको नतिजा सार्वजनिक गरिएको छ ।

वैदेशिक रोजगार विभागले एक हजार ६ सय उम्मेदवारको सूची पठाएको थियो । भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य एक हजार छ सय इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए) लाई सिफारिस गरेको हो।

सोमबार पिआइबिएले चिठा प्रणालीबाट छनोट गरेर ११७५ जना कामदार सूची सार्वजनिक गरेको हो । ११७५ कामदारमध्ये ८२१ महिला र ३५४ पुरूष छन् । पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन् ।

विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ । इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ । भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ ।

अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ । विभागकाअनुसार नर्सिङ होम तथा केयर होमलगायत संस्थामा उनीहरूले रोजगारी पाउने छन् । भिसा अवधि पाँच वर्षको रहेको छ । कमाइ मासिक डेढ लाखभन्दा बढी नेपाली रूपैयाँ हुने उल्लेख छ।