Loading

भक्तपुर, २३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी धन र डन देखेर नडराउने बताएका छन् । तत्कालिन सत्तासंगै बिद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई कमजोर पार्नेकुरा नसोच्न चेतावनी दिंदै उनले सोकुरा बताएका हुन् ।

शुक्रवार भक्तपुरको सूर्यविनायकमा आयोजित पार्टीको जिल्ला बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले धन र डनको राजनीति गर्न खोज्नेलाई लखेट्न समेत सुझाव दिए । ”बिचार र इमानसहित जनताको पक्षमा राजनीति गर्नेलाई जुनसुकै पार्टीको भएपनि सम्मान गर्नु तर, धन र डनको राजनीति गर्ने बेइमानहरुलाई लखेट्न नडराउनु ।” उनले निर्देशन दिए । तत्कालिन जनयुद्धका सुप्रिम कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्डले उतिबेला जाली फटाहहरुलाई लखेटे जस्तैगरी यतिबेला धन र डनको राजनीति गर्नेहरुलाई लखेट्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई हार्ने छुट नभएको भन्दै संगठन निर्माणको बिकल्प नभएको बताए । आफ्नो पार्टीले हारे माओवादी एजेन्डाले हार्ने र अन्तत परिवर्तित व्यवस्था र देशले नै हार्नसक्ने तर्फ सचेत भएर पार्टी संगठन सुद्रिढ गर्नुपर्ने उनको भनाइ छ ।”संविधान हामीले बनाएको हो, संघीय लोकतान्त्रिक गणतन्त्र हामीले ल्याएको हो । समावेशी, समानुपातिक र धर्म निरपेक्षता लगायतका मुद्दा हाम्रो हो ।” उनले भने “त्यसैले यसको रक्षा र बिकास गर्ने अभिभारा पनि हाम्रै हो ।”

उक्त अवसरमा अध्यक्ष प्रचण्डले देशलाई समाजवाद तर्फ लैजान केपी ओलीको एमालेसंग एकता गरेको भएपनि उनी प्रतिगमनकारी कित्तामा उभिएको बताए । माओवादी केन्द्र पूरा इमान्दारीताका साथ् एकताको पक्षमा रहेको भएपनि नियोजितरुपमा पार्टीलाई बिभाजन गराइदा कम्युनिष्ट आन्दोलन कमजोर बनेको उनले बताए । यद्यपी सच्चा र क्रान्तिकारी कम्युनिष्ट धार र प्रतिगमनकारी धारलाई जनताले चिन्न अवसर पाएकाले अन्तत प्रतिगमनकारीहरु परास्त हुने उनले बिश्वास समेत व्यक्त गरे ।

पार्टी एकता अघि नेपाली काँग्रेस लगायतका दलले ५ वर्ष नै आफूलाई प्रधानमन्त्री अफर गरेको खुलासा गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले बलियो कम्युनिष्ट पार्टी बनाएर समाजवाद तर्फ जाने लक्षबाट आफू त्यतिबेला बिचलित नबनेको र पार्टी एकता गरेको जानकारी गराए । ” परिस्थिति तपाईहरुको सामुन्नेमै छ – उतिबेला मलाई प्रधानमन्त्री अफर गर्ने नेतालाई यतिबेला हामीले नै बलजफ्ती गरेर प्रधानमन्त्री बनाउनुपर्यो ।” उनले भने । तत्कालिन प्रधानमन्त्री केपी ओली कम्युनिष्टको नाममा प्रतिगमनकारी नेता भएकोले उनलाई बर्खास्त गरी बालकोट पुर्याउनु ठुलो उपलब्धी भएको उनको भनाइ छ ।

कार्यक्रममा सूर्यविनायक नगर कमिटीका संयोजक जीवन तज, मध्यपुर थिमीका संयोजक विजय श्रेष्ठ, त्यसैगरी चाँगुनारायणका संयोजक नरेश खड्का र भक्तपुरका संयोजक सुनिल गोथे बासुले समसामयिक राजनीति र संगठनका बिषयमा नगरभित्रको रिपोर्टिंग प्रस्तुत गरेका जिल्ला सदस्य युवराज आचार्यले बताए ।

झिल्को डटकमबाट