![]()
६६औं प्रहरी दिवस २०७८ को अवसरमा मृगौला रोगको आधारभूत जाँच कार्यक्रम सम्पन्न
काठमाडौं, ११ असोज / ६६औं प्रहरी दिवस २०७८ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित मृगौला रोगको आधारभूत जाँच कार्यक्रममा कूल ८ सय २६ जनाको मृगौला जाँच गरिएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा। दिवा शर्मा रानाको नेतृत्वमा १३ जना चिकित्सक सहितको टोलीले उक्त प्रतिष्ठान एवं नेपाल प्रहरी संगीत विद्यालय समाखुशीमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरू समेत ६ सय ४४ जना पुरुष र १ सय ८२ जना महिला गरी जम्मा ८ सय २६ जनाको आधारभुत मृगौला जाँच गरेको हो ।
नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा आयोजित उक्त कार्यक्रममा सोही अस्पतालकी प्रहरी उपरीक्षक डा. दिवा शर्माले मृगौला रोग तथा यसको उपचार साथै रोग सम्बन्धी अपनाउनुपर्ने सावधानीहरु सम्बन्धी चेतनामूलक डकुमेन्ट्री प्रस्तुतीकरण गर्नुभएको थियो ।
नियन्त्रित लागूऔषध सहित पक्राउ
काठमाडौं, ११ असोज / चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट ४ सय ५९ एम्पुल नाईट्रोभेट सहित सिन्धुली मरिण गाउँपालिका-७ बस्ने २१ वर्षीय युवराज लाखेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ९५५ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भन्सार छलि ल्याउँदै गरेको कपडा बरामद
महोत्तरी, ११ असोज / सोन्मा गाउँपालिका-३ रघुनाथपुरबाट भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब २ लाख २६ हजार रुपैयाँ बराबरको कपडा सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र प्रहरी चौकी रघुनाथपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा ल्याउँदै गरेको उक्त कपडा फेला पारी बरामद गरेको हो । बरामद कपडा आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइने छ ।
टिपरको ठक्करबाट १ जनाको मृत्यु
झापा, ११ असोज / शिवसताक्षी नगरपालिका-१० माईधारस्थित सडकमा प्रदेश नम्बर ०३-००१ क ००९५ नम्बरको टिपरले को.२ च २६३२ नम्बरको गाडीलाई सोमबार बिहान ठक्कर दिँदा गाडी अनियन्त्रित भई कन्काई सिंचाई आयोजनाको नहरमा पल्टिँदा गाडी चालक दमक नगरपालिका-९ बस्ने ४० वर्षीय नेत्र खड्काको घटनास्थलमै मृत्यु भएको छ ।
टिपर चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
सप्तरी, ११ असोज / खडक नगरपालिका-२ बेल्ही बस्ने २१ वर्षीय दिपेन्द्र मण्डलको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
आपको रुखमा चढेको अवस्थामा तारमा छोएर करेन्ट लागी अशक्त भएका उनको उपचारको लागि कामना नर्सिङहोम लहान सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पहिरोमा परी मृत्यु
सोलुखुम्बु, ११ असोज / लिखुपिके गाउँपालिका-५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङ नम्बर ३ मा सोमबार बिहान पहिरो जाँदा सुरुङमा काम गरिरहेका खोटाङ घर भएका २८ वर्षीय रामकृष्ण राईको सुरुङबाट करिब ४ सय मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको छ ।
सोही पहिरोमा परेर घाइते भएका दोलखा जिरी नगरपालिका-२ बस्ने २१ वर्षीय जगत श्रेष्ठ र ओखलढुङ्गा मोलुङ गाउँपालिका-८ बस्ने २८ वर्षीय प्रविन्द्र राईको एमबि दोगड हाईड्रो पावरको मेडिकलमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं, ११ असोज /काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसको कोठामा भारत कोलकता घर भएका ८२ वर्षीय किशन गिरी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ स्थित सडकमा पार्किङ गरी राखेको बा.५ ख ६५३० नम्बरको बसमा दोलखा सैलुङ गाउँपालिका घर भई उक्त बसका चालक ४४ वर्षीय तुल बहादुर उप्रेती सोमबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, गोदावरी नगरपालिका-७ सल्लेनी कटुवाल दह जाने सडक मुनी झाडीमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार भ्लोन सोमबार मृत अवस्थामा फेला परेका छन् । टाउको र घाटीमा धारिलो हतियारको चोट रहेको अवस्थामा उनको शव फेला परेको हो ।
कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-९ नमुनाटोल घर भएका लाल बहादुर बुढाका छोरा सोही नगरपालिका-७ शान्तिटोलस्थित मामाघरमा बस्दै आएका ५ वर्षीय शिशिर भन्ने सुशान्त बुढा घरबाट करिब १ सय मिटर टाढा पानी जमेको खाल्डोमा सोमबार मृत अवस्थामा फेला परेका छन् । शनिबारदेखि हराएकोले खोजी गर्नेक्रममा उक्त खाल्डोमा उनको शव फेला परेको हो ।
अछाम, बान्निगढी जयगढ गाउँपालिका-६ काडाकोट बस्ने ६० वर्षीय धन बहादुर रावत सोही ठाउँस्थित कालारौवा खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यहि असोज ४ गते रामारोसन गाउँपालिका-६ सुतारमा घाँसे मेला हेर्न भनी घरबाट हिँडेका उनी बेपत्ता भएपछि खोजी गर्नेक्रममा उक्त खोलामा उनको शव फेला परेको हो ।
झापा, गौरीगंज गाउँपालिका-२ कोरोबारी बस्ने ५० वर्षीय बलबहादुर दराल सोही ठाउँस्थित किशने खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-३ स्थित न्यूरोड जाने भित्री सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
डडेलधुरा, पर्शुराम नगरपालिका-६ कुणास्थित महाकाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब २७ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
