Loading

डुबेर ३ जनाको मृत्यु
काठमाडौं, ७ असोज / कञ्चनपुर, पुनर्बास नगरपालिका-८ कंकड बस्ने रामजस रानाको छोरा २ वर्षीय अंकित राना आफ्नै घर पछाडि रहेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार बिहान मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनको पुनर्बास पोलिक्लिनिक आईबिआरडितर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो ।

सप्तरी, महदेवा गाउँपालिका-२ अकबरपुर बस्ने रामचरित्र मंडलकी छोरी ५ वर्षीया सिवानी मंडलको आफ्नै घर नजिक पोखरीमा नुहाउने क्रममा डुबेर बुधबौर दिउँसो मृत्यु भएको छ ।

बारा, फेटा गाउँपालिका-१ त्रिवेणी बस्ने जोखन दासको छोरा ७ वर्षीय कृष्ण दास तत्वाको सोही ठाउँस्थित नारायणी नहरमा नुहाउने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सटर तोडफोड गरी मोवाइल चोरी गर्ने २ जना पक्राउ
वर्दिया, ७ असोज/ बढैयाताल गाउँपालिका-६ मैनापोखर बजारमा रहेको क्रितिसा ईलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोवाइल चोरी गरेको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय ईस्लाम दिन र बाँके डुडुवा गाउँपालिका(७ बस्ने ४० वर्षीय मुसा कुरेसी रहेका छन् । प्रहरीले ईस्लामलाई मोवाइल चोरी भाग्दै गरेको अवस्थामा घटनास्थलबाटै पक्राउ गरेको हो भने चोरीमा संलग्न मुसालाई बढैयाताल गाउँपालिका-३ भोलागौडी बजार नजिकबाट चोरी भएका ४ थान मोवाइल सहित फेला पारी पक्राउ गरेको हो ।

दुवै जना उपर जिल्ला अदालत वर्दियाबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय वर्दियाले जनाएको छ ।

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद
काठमाडौं, ७ असोज /बाजुरा, खप्तड छेडेदह गाउँपालिका(६ लम्तोला बस्ने बुद्ध गुयाललाई १ थान भरुवा बन्दुक सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट आटिचौर बाजुराबाट खटिएको गस्ती टोलीले गुयाललाई सोही ठाउँस्थित मैतोला सामुदायिक वनको बाटो नजिक उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

बाग्लुङ, तमानखोला गाउँपालिका(५ र ६ को सिमानास्थित रातावाङ खोलाको ओडारबाट २५ थान एकनाले भरुवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी बुङगादोभानबाट खटिएको प्रहरीले उक्त ओडारबाट लुकाई राखेको अवस्थामा २४ थान साबुत र १ थान बेसाबुत गरी उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
काठमाडौं, ७ असोज / अछाम, साँफेबगर नगरपालिका(१० घुघुरकोट बस्ने ३० वर्षीया सुना थापा साँफेबगर नगरपालिका(१ बुढीगंगा नदीको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

बुढी गंगा नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय घुघुरकोट र ईलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
नुवाकोट, किस्पाङ गाउँपालिका-२ चिलाउने बस्ने भरत तामाङका छोरा १३ वर्षीय पृतम तामाङ घरबाट करिब ३ किमी टाढा सोले पुल मुनी बिहीबार मृत अवस्थामा फेला परेका छन् । घरबाट पाहा मार्न जान्छु भनी हिँडेकोमा घर फर्की नआएपछि खोजी गर्नेक्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

सप्तरी, सप्कोशी नगरपालिका-११ मलेठ बस्ने ५५ वर्षीय हरिहर प्रसाद चौधरी घरबाट करिब १ सय मिटर टाढा सडक छेउमा रहेको पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

कन्चनपुरतर्फ गएका उनी फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त पोखरीमा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।