![]()
काठमाडौं । केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त चयन गर्दै राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२औँ केन्द्रीय अधिवेशन तथा २५औँ वार्षिकोत्सव रजत जयन्ती सम्पन्न भएको छ ।
राष्ट्रिय समाचार समितिका वन्तको नेतृत्वमा निर्विरोध चयन भएको उक्त समिति १३ सदस्यीय रहेको छ भने दुई केन्द्रीय सदस्य केन्द्रीय कमिटिले मनोनित गर्ने छ । वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का, महिला उपाध्यक्षमा भगवती थापा, महासचिवमा नवराज श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ, सचिव मुकुन्द कालीकोटे रहेका छन् ।
त्यस्तै केन्द्रीय सदस्यमा प्रवीण कुलुङ राई, घनश्याम श्रेष्ठ, हरिशसिंह नगाल, आर्यन धिमाल, शिला तिमिल्सिना, रमिता छुँजु र प्रदीपकुमार श्रेष्ठ चयन भएका छन् । राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यक्रममा एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६–७७ बाट मनोरञ्जनतर्फ नवराज वाग्ले र कपिल खड्का, खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डङ्गोल, पर्यापर्यटनतर्फ नारायण सिलवाल र प्रेम थापा, संस्कृति सम्पदातर्फ शोभा मर्हजन र प्रदीप शाक्य तथा साहासिकतर्फ मुकुन्द कालीकोटे र पूर्णिमा श्रेष्ठलाई प्रमाणपत्र र चाँदीको तक्मा प्रदान गरिएको थियो ।
पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाका नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटो पत्रकारिता पुरस्कार शिलापत्रका फोटो पत्रकार सुशीलकुमार श्रेष्ठलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
काठमाडौंमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए भने काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्बर राजवंशी, पूर्वअध्यक्ष विकास रौनियार र कविन्द्रमान शाक्यले पनि शुभकामना मन्तव्य राखेका थिए ।
निर्वाचन प्रक्रियामा व्यवसायी तथा समाजसेवी नारायण श्रेष्ठ, पत्रकार माधव बराल र पूर्वअध्यक्ष कविन्द्रमान शाक्यको निर्वाचन कमिटीले सहयोग गरेको थियो ।
