Loading

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
काठमाडौं, ६ असोज / नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff course (AACSC) सि.सं. ३ का ५० जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।

सो क्रममा उहाँहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो । अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी संगठनको इतिहास एवम् कार्य प्रकृति सम्बन्धी यथेष्ट जानकारी हासिल गरेको विश्वास व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी सम्बन्धी विविध विषयमा तालिमरत अधिकृतहरूले राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा सवै सुरक्षा निकायबीच आपसी सहयोग र समन्वय भइरहेको बताउनुभयो । आउँदा दिनहरुमा समेत सकारात्मक कार्यहरु सम्पन्न गर्न आपसी सहयोग र समन्वय आदान प्रदान हुने उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा सेनानी राहुल अधिकारीले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 ७ हजार ३ सय ७९ जनालाई मास्क वितरण
काठमाडौं, ६ असोज / कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ७९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख ५३ हजार ४ सय ७० जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । नयाँ भेरियन्ट सहितको कोभिड(१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै रु’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ८ सय ६९ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेट सहितको ४४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ८ हजार ७ सय ३९ जनालाई सचेत गराइएको छ ।

हलुका सवारी चालक तालिम सुरु
काठमाडौं, ६ असोज / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २३औं समूहको हलुका सवारी चालक तालिम सुरु भएको छ ।

सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई।नरोत्तम लाल प्रधानले बुधबार आयोजित कार्यक्रममा उक्त तालिम उद्‌घाटन गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले सवारी साधनमा समय सापेक्ष रुपमा परिवर्तन हुने प्रविधिको बारेमा तालिम दिलाइ योग्य र दक्ष चालक उत्पादन गर्ने संगठनको उद्देश्य भएकाले तालिमको अवधिमा प्रदान गरिएको सीप अनुशासित, इमान्दारीपूर्वक, लगनशिल र मेहनतका साथ हासिल गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई।कमलेन्द्रलाल कर्णले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी हवल्दार १ जना र प्रहरी जवान ४१ जना गरी जम्मा ४२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी पक्राउ

काठमाडौं, ६ असोज / बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी नुवाकोट बिदुर नगरपालिका-१२ मुलाबारी वतन भएका ४५ वर्षीय राजेन्द्र कुमार पण्डित भन्ने राजेन्द्र पण्डितलाई घटनाको ११ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

२०६७ जेठ ४ गते चितवन भरतपुर महानगरपालिका-१० हाकिमचोकस्थित सडकबाट १२/१५ जनाको अज्ञात समूहले अपहरण गरी लगी १९ दिनसम्म बन्धक बनाई राखेकोमा फिरौती वापत १ करोड १० लाख रुपैयाँ मूल्य बराबरको ३ किलो सुन लिएपछी जेठ २२ गते अपहरण मुक्त गरी फरार रहेका उनलाई भारतको विभिन्न स्थानहरुमा लुकीछिपि बसेकोमा नेपाल आएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट फेला पारी पक्राउ गरेको हो ।
उनीउपर पुनरावेदन अदालत हेटौंडाबाट २०७० माघ २१ गते अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
झापा, ६ असोज / झापा गाँउपालिका-१ घर भई भारत किसनगञ्ज सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्यामा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत किसनगञ्ज सिंघीमारी ग्राम पञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका-१ का ३७ वर्षीय लखन टुडु सतार, ५६ वर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय श्री हेमरम सतार रहेका छन् ।

झापा गाँउपालिका-१ स्थित सानो माईखोलामा गत भदौ २५ गते धोन्नी टुडुको अर्ध शरीर भएको टाँउको, घाटी, पेट (कम्मर भन्दा माथीको भाग) तथा घुडा भन्दा मुनीको भाग नभएको अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरीले हत्यामा संलग्न चारै जनालाई पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय झापाबाट पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरु मृतक धोन्नीको आफन्तहरु रहेको र जग्गाको बिषयमा उनिहरु बिच बिबाद हुदै आएकोमा भदौ २५ गते चारै जना मिलेर धोन्नी टुडुलाई माईखोला किनारमा लगि शरीरको विभिन्न भाग काटी खोलामा फालेको अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरू उपर कर्तब्य ज्यान मुद्दामा कानुनी कारबाही अगाडि बढाई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा १ जना पक्राउ
काठमाडौं, ६ असोज / चन्द्रागिरि नगरपालिका-११ स्थित सामसुङ टिभि कारखानाको कम्पाउण्डमा राखिएको बिद्युतको ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा धादिङ गल्छि गाउँपालिका-८ घर भएका ४३ वर्षीय नारायण थापालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

असोज २ गते राति थापा लगायत ४ जनाले उक्त ट्रान्सफर्मर चोरी गरी हिँड्न लागेको अवस्थामा स्थानीय बासिन्दाहरु नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरी तलासी गर्दा १ थान फलाम काट्ने कटर, १ थान पेन्चिस थान, १ थान फलामको डण्डी, १ थान स्क्रुड्राईभर, ११ थान बिभिन्न साईजको रेन्ची, २ थान कपडाको सल, ३ थान प्लाष्टिकको बोरा, १ थान ट्रान्सफर्मर र १ थान ट्रान्सफर्मर तान्न प्रयोग भएको रवरको फिता डोरी सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

चोरीमा संलग्न हाल फरार अन्य ३ जनाको खोजी गरिरहेको छ । थापा उपर मुलुकी फौजदारी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

अलैची ठगीमा संलग्न १ जना पक्राउ
सुनसरी, ६ असोज / अलैची ठगीमा संलग्न रहेको अभियोगमा सुन्दर हरैचा नगरपालिका-४ वलिया बस्ने तेह्रथुम आठराई गाउँपालिका-५ घर भएका ४३ वर्षीय सुरेश कुमार भट्टराईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

खोटाङ साकेला गाउँपालिका-२ बस्ने रन्जीत राई समेतले अलैची बिक्रीको लागि २०७७ पुस ५ गते सुरेशसँग फोन सम्पर्क गरी ईटहरी उपमहानगरपालिका(५ जन्ताबस्तीस्थित शेषराज गुरुङको घरमा गोदाम भाडामा लिई राखेकोमा सोही रात नै गोदामबाट अलैची उठाएर लगि सकेको र बुझी लिने ब्यक्तिहरुको मोबाइल नम्बर समेत बन्द भएको भन्ने पीडितहरुको निवेदनको आधारमा अनुसन्धान समूह बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले मुख्य योजनाकार सुरेशलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमसँगको समन्वयमा तेह्रथुमको म्यागलुङमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत सुनसरीमा पेश गरी यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अवैध रुपमा ल्याउँदै गरेको सामान सहित पक्राउ
काठमाडौं, ६ असोज / कपिलवस्तु, बाणगंगा नगरपालिका-२ पिपरास्थित सडकबाट बा।१० च ४४२२ नम्बर र सुदुर पश्चिम प्रदेश ०१००१ च ३०९६ नम्बरको पिकअपमा ल्याउँदै गरेको बाख्रा, पाठा, पाठी, बोका तथा अन्य सामान गरी करिब १८ लाख २८ हजार रुपैयाँ बराबरको सामान बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा पिकअपमा ल्याउँदै गरेको अवस्थामा फेला पारी उक्त सामान सहित दुवै गाडीका चालकलाई नियन्त्रणमा लिएको हो । रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट भन्सार छली ल्याएका करिब ४ लाख रुपैयाँ मूल्य बराबरका सुट सेट, साडी लगायत विभिन्न कपडाहरु सहित भारत घर भएका २ जना १६ वर्षीय किशोरहरूलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भन्सार छली ल्याएका कपडाहरू सोही ठाउँस्थित घरमा राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त कपडाहरू फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बरामद सामान सहित उनीहरूलाई भन्सार कार्यालय सुनौलीमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा परी मृत्यु तथा घाइते
काठमाडौं, ६ असोज / उदयपुर, बेलका नगरपालिका-९ खार खोलास्थित सडकमा प्रदेश नम्बर १-०२-००२ च ४८७४ नम्बरको बोलेरोले स.४ प ९१०५ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-२ बस्ने ४० वर्षीय राम चन्द्र राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
सुर्खेत, सिम्ता गाउँपालिका-४ बजेडी चौरस्थित सडकमा देउली बजारबाट बादेपिपलतर्फ आउदै गरेको ना.७ ख ६०६३ नम्बरको बस स्ट्रिङ फेल भई सडकबाट करिब १५ मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा बसका चालक कोहलपुर नगरपालिका-१० बस्ने ३६ वर्षीय बिमोस सिंह लामा लगातय २५ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उद्धार गरी उपचारको लागि मेहेलकुना अस्पताल पठाइएकोमा ४ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
चितवन, ६ असोज / भरतपुर महानगरपालिका-१४ बस्ने ३२ वर्षीय माधव गौतमको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित बरौजी नहरमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
काठमाडौं, ६ असोज / काठमाडौं महानगरपालिका-२४ वसन्तपुरस्थित कालभैरव मन्दिर पछाडी पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका-१६ शिबघाट भङ्गेरी थानस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोतः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय